
सिन्धुपाल्चोकका बाढी पहिरो पीडितले निजी आवास निर्माणका लागि ५ लाख पाउने भएका छन् । सरकारले विपदमा परेर घरबार गुमाएकाहरुको निजी आवास निर्माण गर्न अनुदान दिने भएपछि पीडितले आवास निर्माणका लागि ५ लाख पाउने भएका हुन् ।
घर पूर्ण रुपमा क्षति भएकाले हिमाली जिल्लामा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख पाउने भएका छन् । सिन्धुपाल्चोक हिमाली जिल्ला भएकाले पीडितले पाँच लाख पाउने छन् । सिन्धुपाल्चोकको हकमा पीडितले पहिलो किस्ता ५० हजार, दोस्रो २ लाख ५० हजार र तेस्रो २ लाख पाउनेछन् ।
घर पूर्ण क्षति भएकाले अस्थायी रुपमा बस्नका लागि बास बनाउन अस्थायी आवास अनुदान ५० हजार पाउने छन् । पहिलो किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ हजार पाउने कार्यविधिमा उल्लेख छ ।
आंशिक क्षति भएकालाई घर प्रबलीकरण तथा मर्मत गर्न ५० हजार दिइनेछ । त्यस्तै घडेरीसमेत नभएकालाई घडेरी किन्नका लागि ३ लाख अनुदान दिने भएको छ ।
जेठ ३० देखि असोज ३० सम्म बाढी र पहिरोबाट क्षति भएकाहरुको निजी आवास निर्माणका लागि सरकारले यस्तो अनुदान दिन लागेको हो ।
अनुदान रकम स्थानीय, प्रदेश र संघीय सरकारले समुहिक रुपमा व्यहोर्ने छन् । कार्यविधि अनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिकाले क्रमशः १०, १५ र २० प्रतिशत तथा प्रदेश सरकारले ३० प्रतिशत र बाँकी संघीय सरकारले व्यहोर्ने छ ।
सिन्धुपाल्चोकसहित सरकारले बाढी पहिरोबाट घरबार गुमाएका २२ जिल्लाका पीडितको नीजि आवास निर्माण गर्ने भएको छ ।
लागत सहभागिताका आधारमा जिल्ला विपद व्यवस्थापन कोषमा रकम जम्मा भएपछि प्रमुख जिल्ला अधिकारीले सम्न्धित लाभग्राहीको खातामा पठाउने विधि तय भएको छ । यसको समन्वय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले गर्नेछ ।