कोभिड नियन्त्रणका लागि केही समय कडा लकडाउन आवश्यक रहेको विषयमा छलफल भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले आज आयोजना गरेको सर्वपक्षीय बैठकमा सो विषयमा छलफल भएको हो ।

चौतारा साँगचोकगढी नगरपालिका भित्र कोभिड १९ को संक्रमितहरु बढन थालेपछि नगरपालिकले सर्वपक्षीय बैठकको आयोजना गरेको थियो । मंगलबार कोरोना भाईरस संक्रमण नियन्त्रण र रोकथामका लागि हालसम्म गरिएको गतिविधि, पूर्वतयारी एवम् थप कार्य गर्नका लागि सुझाव संकलन गर्ने हेतुले सरोकारवालाहरुसँग बैठक गरिएको हो ।

बैठकमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले दोस्रो चरणको कोरोना महामारी सुरु भएसंगै नगरभित्र आईसोलेशन केन्द्र संचालनलाई प्राथमिकता दिएको बताए । मेयर तामाङले जिल्ला समन्वय समितिको भवनमा ९ , फिल्ड ट्रेनिङ सेन्टरमा १२ र चौतारा अस्पतालमा ५ गरि २६ बेडको आइसोलेशन सेन्टर संचालनमा ल्याइए जानकारी दिए ।

त्यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले चौतारा साँगाचोकदढी नगरपालिकाले कोभिड १९ नियन्त्रण र रोकथामका लागि तीव्रता दिएपनी अन्य पालिकाहरुले त्यति तयारी नगरेको आरोप लगाए । सप्रजिअ खनालले कोभिड १९ नियन्त्रणका लागि पूर्वतयारीमा तिव्रता दिन सबै पक्षलाई आग्रह गरे । गोरख बहादुर गणका प्रमूख अनिल श्रेष्ठले भाइरस नियन्त्रणसँगसँगै शव ब्यवस्थापनमा पूर्वतयारी अपुग रहेको भन्दै यसतर्फ पनि योजना बनाउन सुझाए ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरि नायब उपरीक्षक प्रकाश सापकोटाले भने केही समय कडा लकडाउन आवश्यक्ता रहेको बताए । ‘ जिल्लामा कोभिड संक्रमणको दर अत्याधिक रुपले बढेकाले केही समय कडा लकडाउन गर्नुपर्ने देखिन्छ ।’ सापकोटाले बताए ।

स्वास्थ कार्यालय, सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंलेले समुदायमा कोरोना भाईरस संक्रमण भूसको आगो जस्तै सल्किएको जानकारी गराउँदै होम आइसोलेशनमा बसेका संक्रमितहरुको अवस्था बुझ्न र थप उपचारका लागि स्वास्थ्यकर्मीको सहभागितामा पालिकाले छुट्टै कार्यदल बनाएर परिचालन गर्नुपर्ने सुझाए ।

उपमेयर जानुका पराजुलीले कोभिड विरुद्धको युद्धमा सबै एक भएर लाग्नुको विकल्प नरहेको बताउँदै बैठकमा आएका सुझावहरुलाई कार्यन्वयन गरिने प्रतिबद्धता जाहेर गरिन ।
बैठकमा नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, व्यवसायी श्यामकृष्ण श्रेष्ठ, गैसस महासंघका अध्यक्ष राजेन्द्र शर्मा, निर्माण ब्यवसायी संघका अध्यक्ष छत्र तामाङ लगाएतले कोभिड १९ नियन्त्रण र रोकथामका लागि आ आफ्नातर्फबाट सुझाब दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!