सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकमा कोरोना संक्रमण बढेसँगै यसको रोकथामका लागि विभिन्न संघसंस्था तथा समाजसेवी समेत लागिरहेका छन । कोभिड १९ बाट जिल्लावासीलाई जोगाउन र कोरोना संक्रमण फैलन नदिन संस्था तथा व्यक्तिहरुको सहयोग बढेको हो ।

जिल्ला कोरोना संकट व्यवस्थापन समिति, विभिन्न स्थानीय तह, सुरक्षाकर्मी, अस्पताल लगायत स्वास्थ्य केन्द्रमा अहिले व्यक्ति तथा संस्थाले विभिन्न स्वास्थ्य सामग्री सहयोग गरिरहेका छन । केही समाजसेवीले आफ्नो नीजि सवारी साधन संक्रमितलाई ओसारपसार गर्न समेत प्रयोगमा दिएका छन् । कतै स्वास्थ्य सामग्री, सिलिण्डर, अक्सिजन जस्ता अत्यावश्यक सामग्री सम्बन्धित निकायलाई सर्वसाधारणको उपचारमा प्रयोग गर्नका लागि हस्तान्तरण गरिरहेका छन ।

व्यापारीहरुको समूह सिल्क ट्रान्सपोर्टले सिन्धुपाल्चोक वासीका लागि ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना रोकथामका लागि सिल्कले करिब साढे तीन सय थान मास्क, अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री सहयोग गरेको हो । सिल्कले तीन लाख थान सर्जिकल मास्क, चालीस हजार थान के एन नाइन्टिफाइभ मास्क, एक सय ५० थान एन्फारेड थर्माेगन, एक लिटर वाला सेनिटाइजर एक हजार थान, फेस सिल्ड एक हजार थान, १० लिटर अक्सिजन ७० थान र ४० लिटर जाने अक्सिजन सिलिण्डर ३० थान प्रदान गरेको थियो ।

त्यस्तै नेपाल हिमालय सिमापार बाणिज्य संघ र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले सिन्धुपाल्चोक जिल्लामा कोभिड रोकथामका स्वास्थ्य सामाग्रीहरु सहायता स्वरुप उपलब्ध गराएको छ । कोभिड–१९ को दोश्रो लहर थप फैलन नदिन दुवै संस्थाले जिल्लाका १२ वटा स्थानीय तह, प्रशासनिय निकाय, अस्पताल, स्वास्थ चौकी, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीलगायत अन्य निकायमा अक्सिमिटर, सेनिटाइजर, सर्जिकल ग्लोबस, एन ९५ माक्स, सर्जिकल माक्स, थर्मल गन, पिपिई सेट र आवश्यक ठाउँमा इलेक्ट्रिकल अक्सिजन मेशिन लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमार), निबर्तमान अध्यक्ष बेद बहादुर श्रेष्ठ र नेपाल हिमालय सिमापार बाणिज्य संघका निवर्तमान अध्यक्ष बच्चु पौडेलले उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

उता नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले सुनसरी पुगेर एक सय ४२ सिलिण्डरमा अक्सिजन भरेर सिन्धुपाल्चोक ल्याएको छ । सो अक्सिजन चौतारा अस्पताल, खाडिचौरस्थित सिन्धु सदावहार अस्पताल र जिल्ला कोरोना संकट व्यवस्थापन समितिलाई हस्तन्तरण गरिएको पत्रकार महासंघ सिन्धु शाखाका अध्यक्ष जीवन श्रेष्ठले बताए ।

त्यस्तै सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले समेत जिल्लामा रहेका अस्पताल र सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरि कोरोना रोकथाममा एकता जनाएको छ । उद्योग बाणिज्य संघका अनुसार सर्जिकल मास्क ८० हजार पीस, केएन नाइन्टिन फाइभ माक्स २ हजार सात सय पीस, स्यानिटाइजर आठ सय लिटर, थर्मल गन ३३ वटा, अक्सिमिटर ३३ थान, पीपीइ एक सय वटा र ग्लोब्स पाँच हजार थान वितरण गरिएको हो । यस्तै अक्सिजन कन्सेक्टर (इलेक्ट्रिक)तीन थान, र अक्सिजन सिलिन्डर ८३ थान र स्वास्थ्य केन्द्रमा पानीको समेत व्यवस्था गरिएकोे संघले जनाएको छ ।

त्यस्तै राजनीतिक व्यक्तिहरु पनि कोभिड १९ रोकथाममा सक्रिय देखिएका छन । नेपाली कांग्रेसका नेता तथा पूर्व संञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जिल्लामा एक महिनामा एकसय बेडको कोभिड उपचार केन्द्र संञ्चालन गर्ने कार्यक्रम अनुरुप बस्नेतले जिल्लाका अधिकाशं अस्पतालमा बेड अक्सिजनको व्यवस्था गरेका छन । बस्नेतले जलविरे अस्पताललाई ५ बेड र ४० लिटर क्षमताको ५ वटा अक्सिजन उपलब्ध गराए । उता इन्द्रावती गाउँपालिकाको नवलपुरमा रहेको नवलपुर अस्पतालमा ५ बेड, ५ अक्सिजन र जिल्ला अस्पताल चौतारामा ४० लिटर क्षमताको १० वटा सिलिण्डर सहयोग गरे ।

बस्नेतले खाडीचौर बजारस्थित सिन्धुसदाबहार अस्पताल र भोटेकोशीको चाकुमा ३७ बेडसहित अक्सिजन दिएका थिए । कांग्रेस जिल्ला सभापति र नेपाली कांग्रेस क्षेत्र नं. १ का अध्यक्ष बालकृष्ण बस्नेत पनि कोभिड १९ रोकथाममा सक्रिय छन ।

सभामुख अग्नीप्रसाद सापकोटा र पूर्व मन्त्री शेरबहादुर तामाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ७५ लाख रकम चौतारामा अक्सिजन प्लान्ट केन्द्र स्थापना गर्नको लागी विनियोजित भइसकेको बताएका छन । बिनियोजित रकममा दुवै जनाले आ आफुले पहल गरेर आएको दाबी गर्दै आएका छन । त्यस्तै प्रदेश सरकारका उध्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले पनि कोभिड १९ नियन्त्रणका लागी स्थानिय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत बाकी रकम कोरोना नियन्त्रणमा खर्च गर्ने बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!