
सिन्धुप्रेस, मेलम्ची ।
सिन्धुकोटका युवाहरु ब्यबसायमा आकर्षीत भएका छन । सिन्धुकोटको पुरानो छाला ब्यबसाय लाई नया रुप दिएर उनिहरुले आधुनिक मेसिन द्धारा उत्पादन गर्न थालेका छन ।
सिन्धुकोटका दिपक बोगटीले गाउँमा रोजगारी नपाएपछि २०७० सालमा रोजगारीको लागी मलेसिया गए । मलेसियामा पनि सोचेजस्तो आम्दानी भएन । तिन बर्षको मलेसिया बसाइ पछि उनि गाउँ फर्किए ।
बिदेशको बसाइ पछि नेपाल आएका उनले केहि रकम पनि लिएर आए । उनले गाउँमै केहि गर्ने सोच बनाए । केहि बर्ष गाउँमा के गर्ने भन्नेमा अलमलमा थिए । गाउँमा आफ्ना बाउ बाजेले गर्दै आएको छालाको ब्यबसाय लाई नयाँ रुप दिएर छालाको बिभिन्न सामाग्री बनाउने सोच उनले बनाए ।
“परम्परागत रुपमा गर्दै आएको ब्यबसाय र बनाउँदै आएको छालाको दाप, जुत्ता जस्ता सामाग्रीलाई आधुनिकिकरण गर्दै नया मेसिन द्धारा हाल ब्याग, पर्स, बेल्ट जस्ता सामाग्रीहरु बनाउन सुरु गरेका छौँ,” उनले भने “पुरानो पेशालाई आधुनिकिकरण गर्दै आफू सबल बन्न सकिन्छकि भनेर यसको शुरुवात गरेका हौँ” ।
ब्यबसाय दर्तादेखि हाल सम्म ९ लाख रुपैया खर्च भइसकेको उनले बताए । उनले गाउँकै बालकुमार बस्याल संग मिलेर उक्त ब्यबसाय शुरु गरेका हुन । मेलम्ची छाला ब्याग उद्योगमा हाल छालाको पर्स, बेल्ट, ल्याप्टप ब्याग, स्कुल ब्याग लगायतका छालाका सामाग्रीहरु बन्ने गरेका छन ।
पहिलाको बजार अन्तर्राष्ट्रिय रुपमा थियो । ठमेलमा ब्यापार गरिन्थ्यो सिन्धुकोटमा बनेका छालाका सामाग्री । अहिले स्थानिय बजार जताततै रहेको र ब्यापार गर्न सहज हुने उनले बताए । अहिले स्थानिय बजार बाट ब्यापार सुरु गरेपनि आफ्नो लक्ष्य भनेको अन्तर्राष्ट्रिय रुपमै ब्यापार गर्ने रहेको उनले जानकारी दिए ।
छालाका कुनै पनि सामाग्री चाहिएमा पनि अर्डर अनुसारको सामाग्री बनाउने बोगटीले बताए । छालाका आकर्षक सामाग्रीहरु चाहिएमा ९८६१०९५६७७ मा सम्पर्क गर्न सकिने उनले बताए ।