
सिन्धुप्रेस, काठमाण्डाै ।
इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष एवम् नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमिति सदस्य मिरा अधिकारी लामाको निधन भएको छ।
५१ वर्षीया उपाध्यक्ष लामा असोज १९ गते देखि स्वास्थ्यमा समस्या आएपछि काठमाडौंको महाराजगन्जस्थित टिचिङ हस्पिटलमा उपचारका लागि भर्ना भएकी थिइन्। त्यसपछि उनलाई ब्लड क्यान्सर रोग देखा परेको थियो।
उपचारकै क्रममा उनको आज बिहान १० बजे मृत्यु भएको हो। गत स्थानीय तहको निर्वाचनमा एमालेका सरस्वती अधिकारीलाई पराजित गर्दै उनी उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।
यसैगरी भोलि आइतबारको दिन गाउँपालिका भित्र शोक विदा हुने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले आज शोक विज्ञप्ती जारी गर्दै भाेली गाउँपालिका भित्रका सबै सरकारी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो।