
चाैतारा । महिला हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत आज सिन्धुपाल्चाेककाे चाैतारामा सचेतनात्मक र्याली तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोककाे आयाेजनामा उक्त कार्यक्रम गरिएको हो ।
र्यालीले चौतारा बजारको परिक्रमा गरेकाे थियाे । कार्यक्रममा राजनीतिक दलका प्रमुख प्रतिनिधि, सरकारी, गैरसरकारी सङ्घसंस्थाका प्रमुख, स्थानीय सरकारका प्रतिनिधि एवम् सर्वसाधारणको सहभागिता रहेको थियाे ।
“घरबाट सुरु गरौँ, महिला हिंसाको अन्त्य गरौँ”, “कुरा हैन काममा जुटौँ, महिला हिंसाको अन्त्य गरौँ” लगायतका नारासहित सुरु भएको र्यालीपछि चौतारा टुँडिखेलमा भएको संचेतनात्मक सांस्कृतिक कार्यक्रममा कलाकार प्रतिमा आचार्य, प्रदीप रोक्का, सावित्री नेपाल, बलबहादुर वाइबा, दीपक आर्चाय र लेखनाथ आर्चायले संचेतनात्मक गीत सङ्गीत प्रस्तुत गरेका थिए ।
लैङ्गिक हिंसा विरुद्ध प्रभात फेरी, सरोकारवालाहरुबीच अन्तरक्रिया, समुदाय र विद्यालय स्तरमा प्रशिक्षण, लैङ्गिक हिंसा विरुद्धका भिडियो प्रदर्शनी लगायतका सचेतनात्मक कार्यक्रम गर्दै आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।