
जुगल गाउँपालिकाको दिपु र तेगा जोड्ने तेगाको पुल तर्न खोज्दा खसेर दिपु गाउँकै आमा-छोरी बेपत्ता भएका छन् ।
गत असार १ मा ब्रम्हायाणीमा आएको बाढीले पक्की पुल बगाएको थियो । त्यसयता काठको पुल हालेर स्थानीय आउजाउ गरिरहेका थिए । जिल्ला प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतका अनुसार बेपत्ता हुने आमा-छोरी जुगल गापा ३ की २० वर्षीया पासाङल्हामु शेर्पासहित नौ महिनाकी डोल्माछिरिङ हुन् ।
बिहीबार छोरी च्यापेर घरबाट बिदा लिई माइती तेम्बाथान् हिँडेकी पासाङल्हामु शुक्रबारसम्म माइती नपुगेको खबर पाएपछि परिवार र आफन्तले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।
आहिले बेपत्ता आमाछोरी दुवैको शंकास्पद स्थानमा तीव्र खोजी भइरहेको छ,’ उपरीक्षक बस्नेतले बताए ।
शव फेला नपरे पनि ब्रम्हायाणी नदी क्षेत्रमा तेगा पुलभन्दा चार सय मिटर तल आमाको कम्बल र छोरीको कपडा फेला परेकाले नदीले बगाएको हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।
यसअघि जुगल गापा वडा ३ तेम्बाथान गाउँ जोड्ने चुडिएको पुल तर्न खोज्दा तेम्बाथान गाउँकै ४० वर्षीय छिमिग्याम्जो लामा (टाउके) नेशमखोलामा खसेर बेपत्ता भएका थिए ।
यसरी हरेक वर्ष पुलबाट खसेर बेपत्ता हुने समस्या समाधान गर्नुपर्ने भन्दै स्थानीयहरूले गुनासो गरेका छन् ।