
नवलपुर । मुलुकमा संघियता सुरू भएयता पहिलो पटक निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यकाल सकिनै लागेको छ । यस अन्तरालमा केही स्थानिय तहका जनप्रतिनिधिको कार्यकाल गालि खांदैमा बित्यो भने केही जनप्रतिनिधिको कार्यकाल वाहवाहिमा सकिनै लाग्यो ।
संघियता पछि नागरिकले घरदैलोको सरकारको आभाष पाएका छन् । कतिपय स्थानिय तहहरूले उदाहरणीय काम गरेका छन् । नागरिकको आवश्यकता केही हदसम्म पूरा भईसकेका छन् । त्यस्तै मध्येको एउटा उदाहरण हो, सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिका ।
इन्द्रावति गाउँपालिकाले आम नागरिकको जनभावना अनुसार योजना तथा परियोजना संचालन गरेको गांउपालिकाका अध्यक्ष वशंलाल तामाङले बताए । गाउँपालिकाको कार्यपालिकामा अल्पमत भएपनि हालसम्म कुनै पनि विषयमा अवरोध सृजना हुने वातावरण नआएको अध्यक्ष तामाङको अनुभव छ । पालिकाले आम नागरिकको मागअनुसार योजनाबद्व तरिकाले बिकास निर्माणको काम गरेको अध्यक्ष तामाङले जानकारी दिए ।
पालिकाले हालसम्म सबै वडाका टोलटोलमा मोटर बाटो खन्ने, स्तरोन्नति गर्ने र कालोपत्रे गर्ने काम गरिरहेको छ । विद्युतिकरण अन्तर्गत गांउपालिकाले पालिकालाई काठे पोल मुक्त गाउँपालिका धोषणाको अन्तिम तयारीमा रहेको छ । पालिकाभित्र बसोबास गर्ने करिव २८ हजार बढि नागरिकलाई स्वच्छ खानेपानि खाने वातावरण सृजना गर्नका लागि पालिकाका सबै घरधुरिमा एक घर एक घारा अभियान अन्तर्गत सबै घरधुरिले खानेपानिको सुविधा पाउने भएका छन् । अहिले ईन्द्रावति बृहद खानेपानिको काम अन्तिम चरणमा पुगिसकेको छ ।
यस्तै स्वास्थ्य क्षेत्रमा पनि इन्द्रावति गाउँपालिकाले उल्लेखनीय काम गरेको छ । इन्द्रावति गाउँपालिकाको प्रशासनिक भवनले उत्तिकै चर्चा पाईरहेको छ । प्यागोडा शैलिमा निर्माण भएको भवनको सामाजिक सञ्जाल देखि सञ्चार माध्यममा चर्चा परिचर्चा भईरहेको छ । उता, सबै वडा कार्यालयको भवन निर्माण भई आफ्नै भवनबाट सेवा दिईरहेका छन् ।
गाउँपालिकाले खेलकुदको विकासका लागि सबै वडाहरूमा एक वडा एक खेल मैदानको अवधारणा ल्याई सबै वडावासिले आफ्नै वडाको मैदानमा खेल खेल्ने वातावरण सृजना भएको छ । केही वडाहरूमा भने खेल मैदान निर्माण सम्पन्न भईसकेका छन भने केही वडामा निर्माणको अन्तिम चरणमा रहेका छन् ।
गाउँमै सुबिधासम्पन्न अस्पताल
इन्द्रावती गाउँपालिकामा एउटा व्यवस्थित अस्पताल थिएन । २८ हजारभन्दा बढी जनसंख्या भएको इन्द्रावती स्थानीयले स्वास्थ्य चौकीभन्दा माथिल्लो सेवा पाउन चौतारा, धुलिखेल या मेलम्ची पुग्नुपर्थ्यो ।
इन्द्रावती गाउँपालिकाले चार वर्षपछि इन्द्रावती गाउँपालिका–४ कै नवलपुर बजारमा १५ शय्याको अस्पताल बनेपछि वर्षौपछि त्यो बाध्यता हटेपछि स्थानीय निकै उत्साहित भएका छन् । एक कार्यक्रमका बिच बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले उक्त अस्पतालको उद्घाटन गरेका हुन ।
यसअघि एक्सरे, रगत स्वास्थ्य परीक्षणकै लागि चौतारा धाउनुपर्ने बाध्यता थियो । औषधि र स्वास्थ्य सेवा नवलपुर बजारमै पाएपछि स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई स्थानियले धन्यवाद दिएका छन ।
५ करोड ५१ लाख लगानीमा न्यु ड्रागइन पवित्र मल्टिपल डेभिड कम्पनीले ३ रोपनी क्षेत्रफलमा दुई वर्षमा पक्की भवन बनाएको छ । ३५ कोठा र १५ बेडको अस्पतालमा ३० जना बिरामी राख्ने क्षमता भएको अस्पतालमा अन्य सुविधाजनक सेवा सञ्चालित धुलिखेल अस्पतालझैं डिजाइन गरिएका चिकित्सा, ल्याब कक्ष र तीन वटा महत्त्वपूर्ण ब्लक राखिएको छ ।
अस्पतालमा दुई एमबीबीएस डाक्टरसहित चिकित्सक, मेडिकल, एक्स रे, ल्याब, इमरजेन्सी वार्ड, अपरेटिङ, माइनर, इसीजीजस्ता सबै अत्यवाश्यक प्राथामिक सेवा सञ्चालनमा ल्याइएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए ।
गाउँपालिकाको आकर्षक भवन
इन्द्रावती गाउँपालिकाले आकर्षक गाउँपालिका भवन बनाएको छ । सबैजसो पालिका भवन सामान्य या आधुनिक शैलीमा निर्माण गरिँदै भए पनि इन्द्रावतीले भने पुरातात्त्विक प्यागोडा शैलीमा भवन बनाएको हो । सुनकोसी अर्थात् थकाह्युल्साले किराँतकालीन राज्यको इतिहास बोकेको छ । यसकारण पनि भवन बनाउँदा पुरानै शैली अपनाइएको इन्जिनियर राजाराम घोरासैनीले बताए ।
घोरासैनीका अनुसार भवन ६ करोड ५१ लाख रुपैयाँ लागतमा बनेको हो । स्वराज–टक्सार जेभीले १८ महिनामा निर्माण सकेको भवनभित्र प्रविधिमैत्री कक्ष, हेल्प डेस्क, मिटिङ हल, पदाधिकारीका लागि छुट्टाछुट्टै कार्यकक्ष छन् ।
जिल्लामा ३ वटा नगर र ९ वटा गाउँपालिका छन् । हालसम्म इन्द्रावतीसहित मेलम्ची, बाह्रबिसे र चौतारा साँगाचोकगढी नगरपालिका तथा लिशंखुपाखर, पाँचपोखरी थाङपाल, जुगल गाउँपालिकाले कार्यालय भवन ठड्याइसकेका छन् । भोटेकोसी, बलेफी, त्रिपुरासुन्दरी, हेलम्बु गाउँपालिकाले केन्द्र निश्चित गरेर भवन बनाउँदै छन् ।
इन्द्रावतीको प्रत्येक घरमा स्वच्छ र सफा खानेपानी पुर्याउने लक्ष्य
इन्द्रावती गाउँपालिकामा खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान हुने भएको छ । पालिकाको वडा नं ४ देखी १२ सम्मकाका सबै बस्तीहरु समेटेर खानेपानी बितरण गर्न इन्द्रावती बृहद खानेपानी आयोजना सुरू भएपस्चात खानेपानीको समस्या समाधान हुने भएको हो ।
ईन्द्रावती बृहद खानेपानी आयोजनाको लागी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडले टेण्डर आह्वान गरेर काम सुरू गरेको हो । ईन्द्रावती बृहद खानेपानी २० करोड भन्दा माथीको लगानीमा निर्माण कार्य सुरु भएको छ । घरघरमा स्वच्छ र सफा खानेपानी पुर्याउने लक्ष्यका साथ एक घर एक धारा को अभियान नै सुरु भएको गाँउपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।
इन्द्रावती गाँउपालीकाका केही स्थानहरुमा खानेपानीको चरम समस्या रहेको थियो । बृहद खानेपानी आयोजना बाट १३ हजार भन्दा बढी पालीकावासी लाभान्वीत हुने र यस आयोजना तोकीएको मिती अधि नै सकिने गाँउपालीकाका प्रमुख ईन्जीनीयर राजाराम घोरासैनीले बताए ।
हाल खानेपानीको समस्या भोगीरहेका नागरीकलाई यो योजना वरदान सावीत हुने स्थानियले बताँउदै आएका छन् । वडा नम्बर १ मा मुहान रहेको खानेपानी तल आफ्नो गाँउसम्म आउने भएपछी स्थानीयहरु खुसि भएको वडा नम्बर ५ का स्थानीय सुनील भट्टराईले बताए ।
गाउँपालिकालाई ऐतिहासीक रूपमा चिनाउन भृकुटी पार्क
ईन्द्रावती गाँउपालीकामा भुकम्प स्मारक र भृकुटी शान्ति पर्कको शिलान्यास भएको छ । शिलान्यास कार्यक्रमको अवसरमा ईन्द्रावती गाँउपालीकाका अध्यक्ष वशंलाल तामाङले इन्द्रावती गाँउपालीकालाई ऐतीहासिक रुपमा चिनाउनु नै गाउँपालिकाबो पहीचान भएको बताए । यस्ता खाले संरचनाले आउने भावी पुस्ताले अध्ययन, अनुसन्धान गर्ने ठाँउको रुपमा चिन्ने उनले बताए।
गाँउपालीकाले ऐतीहासिक रुपमा अघि सारेको योजनाहरुमा उपलब्ध श्रोतलाई मध्यनजर गर्दै काम गरीरहेको पनि अध्यक्ष तामाङले जानकारी दिए । पर्यटकीय स्थल अन्तर्गत पार्क बनाउन लागेको र थामन ह्युल्साको रुपमा चिनीएको ठाँउलाई अब भृकुटी पार्कको रुपमा चिनाउन लागेको उनले बताए।
नेपाल चिनको दौत्य सम्बन्ध रहेको समयमा भृकुटीको विवाहमा यही बाटो प्रयोग गरेको किम्बदन्ती रहेको छ । सोही किम्बदन्तीको आधारमा हालसम्म भएका अभिलेखको आधारमा भृकुटी पार्क निर्माण हुन लागेको गाँउपालीकाले जानकारी दिएको छ ।
पहीलो चरण अन्तर्गत संस्कृती पर्यटन तथा नागरीक उढ्ययन मन्त्रालयको ७० प्रतीशत र ईन्द्रावती गाँउपालीकाको ३० प्रतीशत लागतमा सो पार्क बन्न लागेको हो । यसका साथै ईन्द्रावती गाँउपालीकाको १० औं गाँउसभाले सिपाघाट, ज्यामीरेमाने, नवलपुर ओखरेनी सडकमार्गलाई भृकुटी मार्ग नामाकरण गरेको छ ।
भुकम्पबाट ज्यान गुमाएकाको नाममा पार्क निर्माण
इन्द्रावती गाउँपालिकामा भुकम्प स्मृती पार्क निर्माण भएको छ । भूकम्पमा परेर ज्यान गुमाएकाको नाममा उक्त पार्कको निर्माण गरिएको हो । गाउँपालिकाको नवलपुरमा पार्क निर्माण भएको अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।
तामाङका अनुसार भूकम्पमा मृत्यु भएका गाउँपालिका भरका मानिसको नाम सो पार्कमा लेखिनेछ । गाउँपालिकाभर भूकम्पमा परी ५०० ले ज्यान गुमाएका थिए ।
तत्कालीन सात गाविस मिलेर इन्द्रावती गाउँपालिका बनेको हो । भूकम्पमा सिन्धुपाल्चोकबाट मात्रै तीन हजार ५०० भन्दा बढीले ज्यान गुमाएका थिए ।
प्रत्येक वडाको आफ्नै भवन, खेल क्षेत्रबाट गाउँपालिका लाई चिनाईने
हाल प्रत्येक वडाको आफ्नै भवन रहेको छ । खेल क्षेत्रबाट गाउँपालिकालाई चिनाउन रंगशाला निर्माण अन्तिम चरणमा पुगेको छ । पालिका भित्र एक वडा एक खेल मैदान समेत बनेको छ । बिद्यालय र अस्पतालको लागी आवस्यक जनशक्ति ब्यबस्थापन भएको छ । कृषिमा अनुदान र दूध बेच्ने किसानलाई गाउँपालिकाले अनुदान समेत दिने भएको छ । स्मार्ट पालिका बनाउनको लागी बिद्युतिय हाजिरीको समेत ब्यबस्था गरिएको सुचना अधिकारी मनोज दंगालले बताए ।
गाउँपालिकाको सडक कालोपत्रे । वडा नं १० मा सडक कालोपत्रे भएको छ । त्यस्तै गाउँपालिका वरिपरिको १ किलो मिटर सडक समेत कालोपत्रे गर्न लागिएको इन्जिनियर राजाराम घोरासैनीले जानकारी दिए ।