काठमाण्डाै । निर्वाचन आयाेगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेकाे छ । आचारसंहिता अनुसार सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्न नहुने उल्लेख छ।

जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्न अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनु पर्ने भनिएको छ। स्थानीय तह निर्वाचनमा स्थानीय प्रशासनको अनुमतिबाट मात्रै राजनीतिक दलले कोणसभा गर्न पाउने भएका छन्।

प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने भनिएको छ।

१) उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोल्नुपर्नेछ। उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने आचारसंहितामा उल्लेख छ।

२) सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नपाइने उल्लेख छ। निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र एकाउण्ट सञ्चालन गर्न वा गराउन नहुने राजपत्रमा उल्लेख छ।

३) सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पीच) जस्ता भ्रामक टिकाटिप्पणी गर्न वा गराउन नहुने, कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट गर्न वा गराउन नपाइने व्यवस्था छ।

४) कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने आचारसंहितामा भनिएको छ।

५) निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नपाइने भनिएको छ।

६) कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेको निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्न अगावै वहाल रहेको पदबाट राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!