
नवलपुर । इन्द्रावती गाउँपालिका वडा नं ४ मा यसपटक चारै जना वडाध्यक्षका लागि चुनावी मैदानमा उत्रेका छन्।
कांग्रेसबाट क्षेत्रबहादुर तामाङ, नेकपा एमालेबाट तेज लामा याेल्मोपा, माओवादी केन्द्रबाट देवेन्द्र दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिजेश हिमालयले वडाध्यक्षका लागि मनोनयन दर्ता गराएका हुन्। चारै दलका चारै नेताहरू यतिबेला आफुलाई मत माग्न घरदैलो अभियानमा व्यस्त छन।
कांग्रेसको नर्सरीका रुपमा चिनिएको नवलपुर रहेको यस वडामा गत स्थानीय निर्वाचनमा कांग्रेसका जगतमान ताल्चाभँडेल निर्वाचित भएका थिए। यसअघि साविकको नवलपुर गाविसमा पनि कांग्रेसकै उम्मेद्वार विजयी हुँदै आएको थियो।
चारै उम्मेदवारको दाबी : मेरो पार्टीले जित्छ
कांग्रेसपछि राप्रपाको बलियो गढ मानिने यस वडामा राप्रपाबाट पूर्व प्रधानपञ्च रत्नदास हिमालयका छोरा बिजेश हिमालय मैदानमा छन्। उनी एसेलुखर्क उमाविको विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष भइसकेका व्यक्ति हुन्। पछिल्लो समय धेरैजसो राप्रपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेपनि व्यवसायिक पृष्ठभूमिका बिजेशले राम्रै मत पाउने अनुमान गरिएको छ।
कांग्रेसको गड भएकोले युवा उम्मेद्वार क्षेत्रबहादुरलाई जित निकाल्न केही सहज हुने बताइन्छ। कांग्रेसबाट उम्मेदवार बनेका तामाङ जसरी पनि इतिहास दोहोर्याने दाबी गर्छन्।
इन्द्रावती वडा ४ का कांग्रेस इकाई सभापतिसमेत रहेका उनी युवा सजगता अभियान सिन्धुपाल्चोकका अध्यक्ष हुन्। उनलाई हालका गाउँपालिका अध्यक्षका उम्मेदवार विकास लामाको साथ रहेको छ भने कांग्रेसबाटै निर्वाचित गाउँपालिका अध्यक्ष वंशलाल तामाङ र पूर्व कांग्रेस जिल्ला सचिव बिलबहादुरको साथ पनि रहेको स्थानीय नेताहरु बताउँछन्।
जितपछि युवा वर्ग लक्षित कार्यक्रम बनाइ युवालाई विदेशभन्दा स्वदेशमै कृषि व्यवसायमा आकर्षण गरि आफ्नो वडालाई बेरोजगार मुक्त वडा बनाउने योजना उनले अघि सारेका छन्।
यता एमालेबाट उम्मेदवार बनेका युवा उम्मेद्वार तेज लामा याेल्मोपा एमाले वडा कमिटी सचिव हुन्। साँसद शेरबहादुर तामाङ निकट उनी जसरी पनि जित्ने गरी मैदानमा उत्रिएको बताउँछन्। आफूले जिते बाँकी विकासको योजनालाई निरन्तरता दिनेसमेत उनले बताए। साथै आफुले जितेमा निष्पक्ष ढङ्गले जनताको सेवामा समर्पित हुने बताए।
यता गत स्थानीय तहको निर्वाचन तेस्रो बनेको माओवादी पनि इन्द्रावती -४ राम्रै प्रभाव रहेको मानिन्छ।
दाहाल आफू जित्ने तयारीमा लागिसकेका छन्।
दहालले आफूले जितेको खण्डमा सडकको सुधार र शिक्षामा आधुनिकता र कृषिमा जोड र उद्योगमा खोज्ने गर्ने अभियान का साथ मैदानमा उत्रिएका छन्। वडा सरकार पारदर्शिता एवं निष्पक्ष रुपमा सञ्चालन गर्न पनि आफ्नो जित आवश्यक रहेको उनले बताए। उनी माओवादी जिल्ला समन्वय समितीका सदस्यसमेत हुन्।
यस्तो थियो अघिल्लो निर्वाचनको परिणाम
गत स्थानीय तहको निर्वाचन यस वडामा कांग्रेसका जगतमान ताल्चाभँडेल ६०३ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमाले भिमे लामाले ५०२ मत पाएका थिए।
माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार बनेका रामप्रसाद अधिकारीले २८९ मत ल्याए भने राप्रपाबाट उम्मेदवार बनेका चक्रबहादुर अधिकारीले २१४ मत पाएका थिए। यस वडामा जम्मा २९२३ मतदाता रहेका छन्।