चाैतारा । दुई नगरपालिका र तीन गाउँपालिका जित्दै नेपाली कांग्रेस सिन्धुपाल्चोकमा पहिलो पार्टी भएको छ । सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये नेपाली कांग्रेस एक्लैले बाह्रविसे, मेलम्ची नगरपालिकामा जित हासिल गरेको छ । त्यसैगरी भोटेकोशी, त्रिपुरासुन्दरी र हेलम्बु गाउँपालिका पनि कांग्रेसले जितेको छ ।

सुनकोशी, बलेफी र जुगल गाउँपालिकाको उपाध्यक्ष पनि नेपाली कांग्रेसले जितेको छ । सदरमुकाम चौतारासहित जुगल, बलेफी र लिसंखुपाखर गाउँपालिकाको प्रमुख जित्दै माओवादी केन्द्र सिन्धुपाल्चोकमा दोस्रो भएको छ ।

एमालेले पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका र सुनकोशी गाउँपालिका मात्रै जितेको छ । मेलम्ची नगरपालिका र लिसंखुपाखर गाउँपालिकामा भने उपाध्यक्ष एमालेले जितेको छ ।

२०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले कुल ४१ हजार ३३२ मत ल्याएको थियो तर यो निर्वाचनमा नेपाली कांग्रेसले निकै मत बढाएको छ । कांग्रेसले यो निर्वाचनमा ६३ हजार ९५० मत ल्याएको छ । नेपाली कांग्रेसले मेलम्चीमा राप्रपा र जुगलमा माओवादी केन्द्रसँग सहकार्य गरेको थियो ।

त्यस्तै २०७४ को निर्वाचनमा नेकपा एमालेले ५१ हजार २१ मत ल्याए पनि यो निर्वाचनमा भने केही मत मात्रै बढाएको छ । उसले जम्मा ५९ हजार ७२१ मत ल्याएको छ । एमालेले सुनकोशी गाउँपालिकामा मात्रै माओवादी केन्द्रसँग सहकार्य गरेको थियो । सामग्र मत परिणाममा भने माओवादी केन्द्र तेस्रो भएको छ ।

२०७४ मा माओवादी केन्द्रले ३१ हजार ५८७ मत ल्याएको थियो अहिले भने २९ हजार ७२९ मत ल्याएको छ । माओवादी केन्द्रले सुनकोशी, चौतारा साँगाचोकगढी, बलेफी, जुगल, मेलम्ची, पाँचपोखरी थाङपाल र हेलम्बुमा फरक–फरक पार्टीसँग सहकार्य गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!