काठमाण्डाै । बालबालिकाका लागि सबैभन्दा सुरक्षित र शान्ति क्षेत्र विद्यालय हो भनिन्छ । असल चरित्र सिकाउने गुरु नै चरित्रहीन भएपछि विद्यालयमै बालबालिका असुरक्षित हुन थालेका छन् ।

पछिल्लो समय राजधानी काठमाडौँकै स्कूल र कलेजमा भएका केही यौनजन्य दुर्व्यवहार घटनलाई शैक्षिक संस्थामै छात्राहरू असुरक्षित हुने अवस्था आएको त होइन ? अभिभावकहरू छोरी चेलीहरूलाई विद्यालय पठाउन पनि डराउनुपर्ने अवस्थामा पुगेकाले यो प्रश्न उब्जिएको छ ।

शनिवार राजधानीको जोरपाटीमा रहेको सर्वनाम शिक्षालयमा होस्टल वार्डेनले छात्राहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको घटना बाहिर आएको छ ।

वार्डेन रामजी बस्नेतले छात्राहरूमाथि दुर्व्यवहार गर्ने गरेको भन्दै अभिभावक आन्दोलित बनेका छन् । अभिभावकहरूले घटनाबारे थाहा हुँदा हुँदै विद्यालयका प्रिन्सिपल समेत चुपचाप बसेकाले उनको पनि मिलेमतोमा घटनाहरू हुने गरेको आरोप लगाएका छन् ।

विगत ६ महिनादेखि आफू दुर्व्यवहारको सिकार भएको बताउने एक छात्राले अनौपचारिक कुराकानीका क्रममा घटनाबारे सविस्तार सुनाइन् ।

आमाबुवा नेपालमा नभएका छात्राहरूलाई वार्डेन बस्नेतले टार्गेट गर्ने गरेको उनले बताएकी छन् । वार्डेनले एक्लो मौका छोपेर शरीरका संवेदनशील अंगमा छुने गरेको उनले बताइन् ।

उनले भनिन्, ‘वार्डेनले तिम्रो (वेट) तौल कति छ भनेर सोध्ने गरेको थियो । मैले आफ्नो तौल सही बताउँदा होइन होला म बोकेर चेक गर्छु भन्ने गर्दथ्यो । एक्लो पाएको मौका छोपेर शरीरका संवेदनशील अंगमा छुने गरेको थियो । कक्षामा होमवर्क हेर्छु भनेर बोलाउने गरेको थियो । बोलाएर पछाडि भागमा छुने गरेको थियो ।’

घटनाका बारेमा विद्यालयका प्रिन्सिपल दुर्गानाथ सिवाकोटी र उनकी श्रीमतीलाई जानकारी गराउँदा समेत कुनै एक्सन नलिएको पीडितहरूको आरोप छ । उल्टै सिकायत गरेको भिडिओ बनाएर वार्डेनलाई देखाउने र वार्डेनले टर्चर दिने गरेको उनले बताइन् ।

‘प्रिन्सिपल र म्याडमसँग कुरा राख्दा यो कुरा बाहिर नल्याऊ बाहिर कुरा आयो भने स्कुलको बेइज्जत हुन्छ भनेर भन्ने गरेका थिए । स्कुलको बेइज्जत हुनु भनेको तिमीहरूको बेइज्जत हुनु हो भन्थे’, उनले भनिन्, ‘पछि प्रिन्सिपलको श्रीमतीले कम्प्लेन गरेको भिडिओ बनाएर वार्डेनलाई देखाएको रहेछ । भिडिओ हेरेपछि वार्डेन हाम्रो रूपमा आएर धम्की दिएर गयो ।’

प्रहरीका अनुसार पीडक भनिएका रामजी बस्नेत पक्राउ परेका छन् । उनलाई रामेछापको मन्थलीबाट पक्राउ गरिएको महानगरी प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।

प्रहरीका अनुसार विद्यालयका प्रिन्सिपल र उनकी श्रीमतीसँग पनि सोधपुछ भइरहेको छ । घटनाका बारेमा सोधपुछका लागि मात्रै प्रिन्सिपललाई बोलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!