सुनकाेशी । कफि उत्पादन तथा वितरणमा अब्बल सिन्धुपाल्चोकको सुनकाेशी गाउँपालिकामा रहेकाे पाखरदोभान कफि सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरुलाई विभिन्न किसिमका कृषि सामाग्री वितरण गरेको छ ।

आज एक कार्यक्रमका बिच कृषकहरुलाई आधुनिक कृषिप्रविधिसँग जोड्दै गुणस्तरीय कफि उत्पादनमा वृद्धि गराउन सहकारीले आइतबार ती सामग्री वितरण गरेको हो । सहकारीले किसानहरुलाइ ५० प्रतिशत अनुदानमा ३५ थान मिनिटिलर, सिंचाइका लागि ७ थान पानीट्याङ्की, ५० थान ब्याट्री स्पेयर तथा १८० थान कैँची तथा करौंती वितरण गरिएको सहकारीका अध्यक्ष भुपेन्द्र भण्डारीले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सिन्धुपाल्चोकको सहकार्यमा कृषि ज्ञान केन्द्र, काभ्रेको सहयोगमा ती सामग्री वितरण गरिएको अध्यक्ष भण्डारीले बताए ।

सुनकोसी गाउँपालिका कफि उत्पादनका लागि प्रख्यात छ । यहाँको कफि प्रशोधन गरि ब्राण्डिङ गरेर सिन्धु अर्गानिक कफीको रुपमा जापान, दक्षिण कोरिया, अमेरीका तथा अस्ट्रेलिया निर्यात हुनेगरेको छ ।

पालिकाको भुगोल अनुसार कतैपनि जमिन बाँझो नराख्ने गरि निति बनाउन लागिएको सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सिनाले बताए । कृषि सामग्री वितरण गर्दै अध्यक्ष तिमिल्सिनाले कृषिकहरूलाई सहयाेग गर्दै उत्पादन बढाउने आफ्नाे याेजना रहेकाे बताएका छन । “जुन माटोमा जे उत्पादन हुन्छ, त्यसको लागि सहयोग गर्दै उत्पादन बढाउने मेराे योजना रहेको छ”, उनले भने ।

सुनकोसी गाउँपालिकाबाट मात्रै गत एक वर्षमा ४० टन कफिको चेरी निर्यात गरिएको जिल्ला कफि सहकारी संघकी अध्यक्ष मन्दु थापाले बताइन् । गाउँपालिकाको ३ सय रोपनी जग्गामा कफि खेति गरेर ४ सय ५० परिवार यसमै आश्रीत भइ आम्दानी गरिरहेका छन् । किसानका उत्पादन गाउँपालिकामा रहेका २ वटा कफि सहकारी मार्फत संकलन गरि प्रशोधन पश्चात् ब्राण्डीङ गरेर विदेश निर्यात गरिदैं आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!