मेलम्ची । स्थानीय तहमा जनप्रतिनिधिहरुले कार्यभार समालेको एक सय दिन पुरा भइसकेको छ । यसैबिच मेलम्ची नगरपालिकाका जनप्रतिनिधिहरूले पनि १०० दिन पूरा गरिसकेका छन । यश बिचमा भएका उपलब्धि र सकारात्मक प्रयासहरूलाई सार्वजनिक गरिएकाे छ ।

पदभार ग्रहणदेखि हालसम्म भएका प्रगति तथा गतिविधिबारे जानकारी दिँदै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले एकैपटक परिवर्तनको आसा नराख्न पनि आग्रह गरेकि छन । नतिजा देखिने खालको काम सुरु भइसकेको बताउँदै बिस्तारै परिवर्तन हुँदै जाने उनले बताइन ।

मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले पाँचवर्षे योजनासहित अगाडि बढेको बताइन । बाढी तथा विभिन्न स्थानमा गएको पहिरोलगायत प्राकृतिक प्रकोपका कारण विस्थापित भएकाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्दै स्थापित गर्नु मुख्य उद्देश्य रहेको उनकाे भनाई छ ।

प्रधानले दलित तथा पछाडि परेकाहरु, एकल महिला, जेष्ठ नागरिक बालबालिका लगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गरी आयस्तर उकास्नका लागि काम गरिरहेकाे बताइन । यस्ता छन उनले गरेका मुख्य काम र उपलब्धिहरू :

१, न्यायिक समितिलाई पूर्णता दिँदै न्यायिक समितिको क्षेत्राधिकारभित्र रहेका १७ वटा विवादमध्ये १० फस्र्यौट भएको र बाँकी रहेका सात वटा पनि छिट्टै समाधान गर्ने ।

२, नगरपालिकामा सबै वडामा न्यायिक सम्पर्क व्यक्ति तोकी न्यायिक सम्पर्क व्यक्तिलाई तालिम प्रदान गरिएको छ ।

३, गाउँघरमा हुने सानातिना विवादहरुलाई मेलमिलापको माध्यमबाट समाधान गर्न नगरका १३ वटै वडामा ५० जना मेलमिलापकर्ताको सूची तयार गरी नगरकार्यपालिकाको बैंठकबाट अनुमोदन गरिएको ।

४, उपप्रमुखको नेतृत्वमा हुने राजश्व परामर्श समितिको बैठकबाट राजश्वका स्रोत, दायरा र दरसमेतको विश्लेषण गरी नगरसभामार्फत पेश गरी अनुमोदन गरिएको ।

५, अपाङ्गता परिचयपत्र वितरण समितिलाई पूर्णता दिई शारीरिक अपाङ्गता, दृष्टिविहीन, बौद्धिक अपांगता लगायत विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र प्रदान गर्नुका साथै घरघरै लगेर समेत कार्ड दिइएको ।

६, मेलम्ची नगरपालिकालाई सडक मानवमुक्त मनाउने लक्ष्यसहित सडकमा रहेका आठ जना सडक मानवलाई मानव सेवा आश्रमसँग समन्वय गरी पठाइएको ।

७, नगरपालिकाभित्र रहेका एक सय २३ वटा सडक, सामुदायिक भवन, मन्दिर, विद्यालय, घेराबार, विपद्का योजनालगायत विभिन्न संरचनाहरुको अनुगमन गरी भुक्तानीको लागि सिफारिस गरिएको ।

८, नगरपालिकाभित्रका भूमिहीनलाई भूमि उपलब्ध गराउन र अव्यवस्थित बसोबासी व्यवस्थापन गर्न कार्यक्रम शुभारम्भ गरिएको । राष्ट्रिय भूमि आयोग र मेलम्ची नगरपालिका तथा स्थानीय तहबीच कार्यसहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएसँगै कार्यक्रम शुभारम्भ भएको ।

९, सिन्धुपाल्चोकका भूमिहीन दलित, सुकुम्बासीलाई नियमानुसार जग्गा वितरण र अव्यवस्थित बसोबासलाई व्यवस्थित बसोबासको व्यवस्थापन गराउन बाटो खुलेको ।

१०, गत स्थानीय तह निर्वाचनमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई सशक्तीकरणका लागि क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको ।

११, नगरपालिकाभित्रका सरकारी तथा गैह्रसरकारी सघंसंस्थामार्फत भएका विभिन्न अन्तरक्रिया कार्यक्रमले नगरभित्र रहेका विभिन्न समस्या तथा आम नागरिकका जिज्ञासाका बारेमा बुझ्ने तथा कुनै समस्याको तत्काल समाधान गर्ने अवसर मिलेको ।

१२, नगरपालिकालाई बालमैत्री नगर बनाउने उद्देश्यले जनप्रतिनिधिहरुलाई बालमैत्री शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको र अब छिट्टै विभिन्न वडालाई बालमैत्री वडा घोषणा गर्दै जाने ।

१३, मेलम्ची नगर अस्पताल र पिप्ले स्वास्थ्य केन्द्रमा एम्बुलेन्स तथा शववाहनको व्यवस्थापन गरिएको ।

१४, नगरपालिकामा करदाता शिक्षा तथा उत्कृष्ट करदातालाई सम्मान कार्यक्रम गरिएको

१५, सफा, सुन्दर र हराभरा नगरपालिका बनाउने उद्देश्यका साथ सडकपेटी सञ्चालनमा ल्याउने, सडकपेटी अतिक्रमण गरेका घरधनी तथा व्यवसायीहरुलाई मापदण्ड तय गर्न बैठक तथा छलफल सञ्चालन गरी चाडपर्वपछि भत्काउने सहमति भएको ।

१६, विभिन्न संरचनाको उद्घाटन, सञ्चालन, अनुगमन तथा नगरपालिकाको नियमित कार्यसञ्चालनलाई व्यवस्थित र छिटोछरितो रुपमा अगाडि बढाइएको ।

१७, जेष्ठ नागरिक सञ्जाल पुनर्गठन, मानव बेचविखन रोकथामका लागि कार्यक्रम भएकाे उपप्रमुखको हालसम्मको मुख्य उपलब्धिमा उल्लेख छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!