सिन्धुपाल्चोक ।

“मलाई अमेरीका यही, मलाई जापान पनि यही” पशुपती शर्माको यो गितलाई ईन्द्रावतीका एक युवाले चरीतार्थ बनाएका छन । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ति थोरै मध्येका एक हुन रविन्द्र बिक्रम थापा । सशस्त्र प्रहरीको जागीर चटक्कै छाडेर उनले अहिले पशुपालन तथा कृषि फर्म दर्ता गरेर सञ्चालन गरिरहेका छन ।

इन्द्रावती ४ का रविन्द्र बिक्रम थापाको दैनिकि आजकल फर्ममै बित्ने गर्दछ । उनको दिन बिहान ५ बजेबाट सुरु हुन्छ । उनले आफ्नो फर्ममा भएका भैंसि, बाख्रा र कुखुराको रेखदेख र स्याहार सुसारमै दीन बिताउने गरेका छन । व्यावसायीक रुपमा सञ्चालीत फर्ममा उनले केही सहयोगीहरु राखेका छन । तर पनि उनलाई सबै ठाउँमा एकपटक भएपनि पुग्नै पर्ने बानी नै लागीसकेको छ । बिहानदेखी साँझसम्म उनलाई फर्ममै भेट्न सकिन्छ ।

सशस्त्र प्रहरीमा कार्यरत उनले बिचैमा जागिर छाडे । १३ बर्षमै जागिर छोडेर १८ महिना अघि बाट पाल्चोकी कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर बाख्रापालन सुरु गरे । उनलाइ एकपटक बिदेश जान्छु भन्ने सोच आएको थियो । तर कोरोना महामारीका कारण बिदेश जान पाएनन । “म कसैको अन्डरमा जागिर खान मन नलाग्ने मान्छे । कि आफै केहि गर्छु, कि एक पटक बिदेश गएर आउँछु भन्ने सोच आयो तर जान पाइएन”, उनले भने ।

बैदेशिक रोजगारीको यात्रा सफल नभएपछि दिदि भिनाजुको सल्लाह बमोजिम नेपालमै केहि गर्ने सोच बनाए । गाउँमा केहि गरौँ भन्ने सोच लिएर कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेको उनि बताउँछन । सामाजिक सञ्जालमा बढी चाख राख्ने उनले त्यहिँ बाट बाख्रापालनको बारेमा सिके । गाउँपालिका मार्फत २ दिने कुखुरापालनको तालिम समेत लिए ।

सुरुमा १ लाख ८० हजारमा १२ वटा बाख्रा किनेर फर्मको सुरुवात गरेका हुन । उनको फर्ममा अहिले ३६ वटा बाख्रा, लोकल कुखुरा, १५०० ब्रोइलर कुखुरा, ३ वटा भैसी र एक गाइ छन । उनि अहिले सो ब्यवसायबाट मासिक ६०,७० हजार आम्दानी गर्छन ।

१२ रोपनी क्षेत्रफल भित्र रहेको उनको फर्ममा ७ वटा टहराहरु बनेका छन । हाल सम्म संरचना निर्माण देखि पशुपंक्षी सम्ममा उनको २४ लाख लगानी छ । “आफ्नो परिश्रम सहित हिसाव गर्ने हो भने ४० लाख लगानी भएको छ”, उनले भने । कतिपय आफैंले गर्नसक्ने कामहरु आफै गरेको उनले बताए ।

जागिरे जिवन छाडेर व्यावसायिक बाख्रा पालन सुरु गरेका थापाको मेहनत र कर्म निकै लोभलाग्दो छ । देशमा ‘अवसर’ नदेखेका युवाहरूका लागि उनि प्रेरणाको स्रोत बन्न नसक्ने कुनै कारण छैन । आफ्नै गाँउमा बसेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण उनले दिएका छन ।

उनले स्थानीय जातको बाख्रा पालनमा विषेश जोड दिएका छन । धेरैले उन्नत जातको बाख्रा पालनलाई प्राथमिकता दिए पनि उनलाई स्थानीय जातकै बाख्रा पालन गर्न रहर लागेको बताउँछन । “उन्नत जातको भन्दा स्थानीय जातको बाख्रा पालन गरेर मैले राम्रो आम्दानी गरिरहेको छु”, उनले थपे ।

स्थानीय जातको बाख्रा पालन गर्दा खर्च पनि कम हुनुको साथै स्थानीय हावापानीमा सुहाँउदो हुने हुनाले पनि स्थानीय जातको बाख्रा पालन गरिरहेको उनको भनाई छ । स्थानीय जातको भनेपछि व्यापारीले घरघरबाटै खसी बोका लैजाने गरेको उनि बताउँछन ।

बाख्रा संगसंगै कुखुरा बाट पनि उनले राम्रो आम्दानी गरेका छन । १० पटक ब्रोइलर कुखुरा बेच्दा ६ लाख फाइदा भएको उनकोे भनाइ छ । उनले १८ महिनाको अवधिमा १३ लाख आम्दानी गरिसकेका छन । उनले छोटो समयमा नै यति धेरै प्रगति गरेको देखेर युवाहरु पनी उत्साहित भएका छन ।

बाख्रा र कुखुराबाट मात्र नभए गाइ, भैसीबाट पनि राम्रो आम्दानी गरिरहेको उनि बताउँछन । उनकोे फर्ममा २ वटा दुहुनो भैसि र एउटा दुहुनो गाइ छ । दुध बेचेर पनि राम्रो आम्दानी भइरहेको उनले बताए । “दुध बेचेर मात्रै पनि घरखर्ची चलेको छ”, उनले सुनाए ।

कम्पोष्ट मल प्रयोग गरेर अर्गानिक तरकारी समेत उनले लगाएका छन । आफुलाइ खान पुग्ने तरकारीहरु आफै लगाएका छन । उनको फर्म वरिपरि लटरम्मै फर्सि फलेका छन । केहि समय अघि उनले च्याउ खेती समेत गरेका थिए । च्याउ बाट समेत ८० हजार आम्दानी भएकोे उनि बताउँछन । “भेन्टाहरु पनि हुकिँदै छन, गोलभेडाहरु पनि लगाएको थिएँ, त्यसबाट पनि राम्रो आम्दानी भएको थियो”, उनले भने । सिजन अनुसारको तरकारी पनि फलाउने गरेको उनको भनाइ छ ।

घर परिवार बाट उनलाइ राम्रो साथ र सहयोग रहेको छ । “हामी श्रीमान श्रीमती मिलेर काम गर्छाैँ, एक अर्काको साथ सहयोगले गर्दा यहाँ सम्म आएका हौँ”, उनले भने “म बाख्रा चराउन गएको बेला उनि गाइ, भैसी र कुखुराको स्याहार गर्छिन” । उनिहरुले कुटानी पिसानी मिल समेत सञ्चालन गरिरहेका छन । बिहान बेलुकाको समयमा धान कुट्ने, मकै र मसला पिँध्ने समेत गरेका छन । यसबाट वरिपरिका स्थानियलाइ समेत सहज भएको छ ।

सरकारको सहयोग आवस्यक
सरकारको यसरी नै आफ्नै गाँउमा बसेर काम गरीरहेका युवाहरुलाई सहयोग गर्ने हो भने कृषि उपजमा आत्मनिर्भर बन्न सकिने उनले बताए । स्थानिय सरकारले कृषिमा अनुदानका कार्यक्रमहरु सँगसँगै आधुनिकिकरण गरेर लैजानुपर्नेमा उनले जोड दिए । खोर ब्यबस्थापन, आधुनिक खेती प्रणाली जस्ता कुराहरुको तालिम सरकारले उपलब्ध गराउन सके कृषकहरुमा थप उर्जा थपिने थापाले बताए । त्यसो गर्न सकेमा कृषक आफै उत्साहित हुने उनको भनाइ छ । “कृषिमा युवाहरु नआइ परिवर्तन सम्भव छैन । सरकारले सहयोग गरेन भने हामीले केहि गर्न सक्र्दैनौँ । सरकारी सहयोग नभएमा युवाहरु बिदेश जान बाध्य हुनुपर्ने अवस्था छ । सरकारले निति राम्रो बनाउनुपर्छ । सरकारले केहि दिएपछि हामीले पनि सरकारलाइ दिन सक्नुपर्छ”, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!