
हेलम्बु गाउँपालिका-१ सर्कथली छ्यादी खोलाले बगाएर बेपत्ता भएका शिक्षकको २२ घण्टापछि आइतबार जीवितै उद्धार गरिएको छ । हेलम्बु नाकाते पारी भेग छ्यादी खोलामा साथीसहित नुहाउन गएका स्थानीय विद्यालयका शिक्षक केशव सिवाकोटीलाई खोलाले शनिबार दिउँसो बगरबाट बगाएको थियो ।
शनिबार एक्कासी खोलामा चिप्लिएर उनी खसेर हराएपछि प्रत्यक्षदर्शी शिक्षक र स्थानीयले आफूलाई खबर गरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । सर्कथली आधारभूत विद्यालयमा पढाउँदै आएका दोलखा कालिञ्चोक-३ का स्थानीय सिवाकोटीकाे २२ घण्टापछि जिवितै उद्वार गरिएकाे थियाे ।
बेपत्ता भएका शिक्षक नभेटिएपछि आस मारेका स्थानीय र शिक्षकका परिवारले भिरबाट बिहान ५ बजे ‘बचाउ‚ बचाउ; गुहार, गुहार’ भन्ने आवाज बारम्बार सुनेपछि गाउँपालिका अध्यक्षलाई गुहारेका थिए । तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहितकाे टिम छ्यादी भिरमा खटिएका थिए ।
उनलाई हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौं लगिएको र अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताए ।
शिक्षकको जीवन बचाएको भन्दै स्थानीय गाउँलेले सुरक्षाकर्मी, शिक्षकलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।