
निर्वाचन आयोगले राजनीतिक दल र उम्मेद्वारका बारेमा मत सर्वेक्षण नगर्न आग्रह गरेको छ । उम्मेद्वारको मनोनयन दर्ता भएपछि मतदान सम्पन्न नहुँदासम्म मत सर्वेक्षण गर्न र त्यसको नतिजा सार्वजनिक गर्न नपाइने भन्दै आयोगले त्यसो गरेमा कारवाही हुने चेतावनी दिएको हो ।
‘आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगको अनुगमनबाट पाइएको छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ । मत सर्वेक्षणले निष्पक्ष निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने भन्दै मत सर्वेक्षण नगर्न, त्यससम्बन्धी सामग्री प्रचारप्रसार नगर्न र सामाजिक सञ्चालमा प्रकाशन पनि नगर्न भनेको छ ।