काठमाण्डाै । मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी लैजाने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी लैजान सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी लैजान लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

स्थायी समाधान नहुँदासम्म वर्षामा पानी लैजान रोकेर हिउँदमा मर्मत गरेरै ल्याउनुपर्ने अवस्था छ । गत वैशाखमा पानी पुनःवितरण सुरु गरिएकामा असारदेखि रोकिएको थियो ।

वर्षा सकिएकाले अस्थायीरुपमा पानी चलाउन सडक र पुल मर्मत भइरहेको छ । यस वर्ष हेडवर्कको डाइभर्सन सुरुङ, अम्बाथान अडिट सुरुङमा नदीजन्य कुरा जान नदिन पहिले नै फलामको ढोका लगाएर बन्द गरियो । यो वर्ष सुरुङमा समस्या नभएको अनुमान छ ।

तुलनात्मकरुपमा यो वर्ष संरचनामा कम क्षति पुगेको अनुमान छ । गेट नम्बर १ सफा गरेर चाँडै पानी पथान्तरण गर्न सकिने पन्तले बताए ।

कार्ययोजनामा सुरुङ चलाएपछि हरेक वर्ष साधारण निरीक्षण गर्ने र पाँचपाँच वर्षमा मर्मत गर्नुपर्ने हुनसक्छ भन्ने उल्लेख छ । सोहीअनुसार नै अहिले निरीक्षण गरिएको र त्यसमा सामान्य सुधार आवश्यक रहेको पाइएकाले त्यसलाई सुरु गरिएको छ ।

दुई दशक पहिले निर्माण सुरु भएको आयोजनाबाट विसं २०७७ फागुनमा पहिलोपटक पानी काठमाडौँ ल्याइएको थियो । पानी पथान्तरण गरेको केही महिनामा नै अर्थात् विसं २०७८ असार १ गते आएको वर्षाले आयोजनामा ठूलो क्षति पुर्याएको थियो । आयोजना निरीक्षणका क्रममा आयोजनाका दुई कर्मचारीको मृत्यु भएको थियो ।

सरकारले अस्थायीरुपमा पहुँचमार्ग निर्माण गरेर गत वैशाखमा पुनःपानी पथान्तरण गरेको थियो । झण्डै दुई महिना पानी उपत्यकामा ल्याइएको भएपनि वर्षाले थप क्षति हुन नदिन त्यसभन्दा पहिले नै पानी ल्याउन रोकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!