
पाँचपाेखरी । होमस्टे तथा होटल व्यबस्थापन तालिम पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ४ थाङ्पालकोटमा सम्पन्न भएको छ । सोमबार बाट सुरु भएको तालिमको आज समापन गरिएको हो ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना, ग्रामीण समाज कल्याण सघं आर्सो नेपाल, टिजिएच नेपालको सहयोग तथा थाङ्पाल उपत्यका एकिकृत पुर्नलाभ कार्यक्रमको समन्वयमा तालिम सञ्चालन गरिएको गाउँपालिकाका संस्कृति पर्यटन प्रर्वद्धन समितिका सचिव मुकुन्द पाण्डेले जानकारी दिए ।
समापन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीले तालिममा सिकेका कुराहरुलाई घरमा गएर लागु गर्न आग्रह गरिन । उनले आगामि दिनमा तालिमलाई कम्तीमा एक हप्ता सञ्चालन गर्नेगरि पहल गर्ने आश्वसन दिइन । कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष एवम् पूर्वाधार विकास समितिका संयोजक ङिमाछिरिङ तामाङले ब्यबशाय गर्नेहरुलाई तालिमले फाइदा पुगेको महशुस गरेको बताए ।
समापन कार्यक्रममा आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले पर्यटनको राम्रो सम्भावना बोकेको पाँचपोखरीमा होटल र होमस्टेको ब्यबस्थापन गर्दै प्रर्वद्धन गर्न सकेमा आयस्रोत बढ्ने बताए । तालिममा ४० जना सहभागी रहेका थिए ।