काठमाडौं– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनाव हुँदा वा पार्टीभित्र कठिन निर्णय लिनुपर्दा पुग्ने स्थल हो, सुकुटे बिच रिसोर्ट। प्रचण्ड बेलाबेला ’रिफ्रेस’ हुन स–परिवार उक्त रिसोर्ट पुग्ने गरेका छन्।

तर, प्रधानमन्त्री प्रचण्ड ‘ब्राण्ड एम्बेसडर’ जस्तै बनेको उक्त रिसोर्ट ३० रोपनी सरकारी जग्गा मिचेर निर्माण गरिएको तथ्य खुलेको छ। ३५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापाले रिसोर्टका लागि जम्मा ३ रोपनी जग्गा मात्र आफ्नो नाममा खरिद गरेको देखिएको छ।

जिल्ला मालपोत कार्यालय सिन्धुपाल्चोकले उपलब्ध गराएको श्रेस्ता अनुसार उनको नाममा ३ रोपनी ६ आना ३ पैसा जग्गा रहेको छ। बाँकी जग्गा मिचेर उपभोग गरिरहेको देखिन्छ। उक्त रिसोर्टले स्थानीयको घाट पनि कब्जा गरेको छ। वर्षौंदेखि स्थानीयहरुले लास जलाउने घाट रहेको क्षेत्रमा थापाले बिच भलिबल खेल्ने मैदानदेखि रिसोर्टमा आउने ग्राहकलाई राख्ने टेन्टसम्म निर्माण गरेका छन्।

सिन्धुपाल्चोकको प्रख्यात र चर्चित पर्यटकीय गन्तव्य मानिने सुकुटेमा नदी किनारा र बनको जग्गा हडपेर रिसोर्ट बनाइएको भन्दै स्थानीयवासीले पटकपटक जिल्ला बन कार्यालय, जिल्ला प्रशासन कार्यालय, चौतारा साँगाचोक गढी नगरपालिका र वडामा समेत लिखित उजुरी गरेका छन्।

रिसोर्टले अहिले पनि जग्गा भोगचलन गरेवापत कुनै पनि निकायलाई भाडा तिरेको छैन। हालसम्म जग्गा प्रयोग गर्नका लागि कुनै निकायमा सम्झौता पनि गरेको छैन। थापाले रिसोर्ट चलाउँदै आएको जग्गा बन र नदी बगरको पर्ने चौतारा साँगाचोक गढी नगरपालिकाले पनि स्वीकार गरेको छ।

सबै निकाय मौन

थापाले यसरी सार्वजनिक जग्गा कब्जा गरी सञ्चालन गरेको रिसोर्टको बारेमा कुनै पनि निकाय बोल्न नचाहनु रहस्यमय रहेको एक स्थानीयले बताए। आफूहरुले लिखित रुपमा उजुरी दिँदा पनि अनुगमन गर्ने अनि प्रतिवेदन दिएर थन्क्याउने गरेको ती स्थानीयले बताए।

रिसोर्टको बारेमा चौतारा साँगाचोक गढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले घाटको केही भागमा उक्त रिसोर्ट रहेको स्वीकार गरे। उनले रिसोर्टले आफ्नो जमिन बाहेकको जग्गा स्थानीयहरुसँग सहमति गरेरै प्रयोगमा ल्याएको भन्ने जवाफ दिएकाले आफूहरुले केही नगरेको बताए।

रिसोर्टले प्रयोग गरेको जग्गाको विषयमा हेर्ने निकाय जिल्ला बन कार्यालय सिन्धुपाल्चोक र जिल्ला समन्वय समिति छ। तर दुवै निकाय मुकदर्शक बनेको स्थानीयको आरोप छ।

सरकारी जग्गा मिचेर रिसोर्ट सञ्चालन भएकोबारे सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले अध्ययन भइरहेको बताए। उक्त क्षेत्रमा रहेका धेरै रिसोर्टको यो साझा समस्या देखिएको र यसअघि पनि जिल्ला प्रशासनमा यसको बारेमा स्थानीयले उजुरी गरेकाले आफूले अध्ययनका लागि जिल्ला बन कार्यालयलाई निर्देशन दिएको बताए।

सुकुटे बिच रिसोर्ट करिब ३५ रोपनी जग्गामा फैलिएको र अन्य सार्वजनिक जग्गा उपभोग गरेको कुरा आएपछि आफूहरुले केही तथ्यांक संकलन गरेको र थप संकलनको काम गर्न बन कार्यालयलाई निर्देशन दिएको उनले बताए। अब नगरपालिका, बन र अन्य निकायसँग समन्वय गरी निश्चित मापदण्ड बनाएर के गर्ने भन्ने निर्णयमा पुग्ने प्रजिअले बताए।

राजनीतिक आडमा बन र बगर मिच्दै रिसोर्ट चलाएको सुकुटे बिचमा अनेकौं घटना समेत हुने गरेका छन्। केही समयअघि रिसोर्टमा बसेका दुई युवतीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको थियो। लागुऔषधका विषयमा पनि पटकपटक विवाद आउने गरेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरीले बताए।

गत असार १८ गते मात्रै सुकुटे बिच रिसोर्ट भित्र दुई युवती बसेको टेन्टमा बलात्कारको घटना भएको थियो। रिसोर्ट र त्यहाँ कार्यरत कर्मचारीको लापरबाहीकै कारण घटना भएको प्रहरीको ठम्याइ छ।

रिसोर्ट सञ्चालक थापाले प्रहरी प्रशासनलाई राजनीतिक शक्तिको आड देखाउँदै घटना थामथुम गर्न खोजेपछि प्रहरीले थप एक्सन लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। सुकुटे बिच रिसोर्ट पछिल्लो समय लागुऔषध कारोबारदेखि सेवन गर्नेको ट्रान्जिट पोइन्ट बनेको स्थानीयको आरोप छ।

रिसोर्ट सञ्चालक महेन्द्रसिंह थापा स्वयंले पनि आफूले घाट र केही पर्ती जग्गा चलाएको स्वीकार गरे। उनले आफूले सञ्चालन गरेको रिसोर्टको नाममा ५ रोपनी, गाउँलेहरुको घाटको ३ रोपनी, पर्ती जग्गा ५ रोपनी र बाटोको ५ रोपनी जग्गा रिसोर्टमा परेको उनले स्वीकारे।

सिन्धुपाल्चोकमा रिसोर्ट व्यावसायीहरुको साझा संगठन सिन्धु पर्यटन संघले पनि उक्त रिसोर्टलाई चेतावनी दिँदैआएको छ। संघले सञ्चालक थापालाई पटकपटक सचेत हुन र मापदण्डभित्र बसेर सञ्चालन गर्न सचेत गराउँदै आएको छ। नेपाल लाइभ बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!