
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारको मन्त्री परिषद् बुधबार विस्तार गरेका छन् । यससँगै बागमती सरकारले पूर्णता पाएको छ ।
११ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्री जम्कट्टेलले बाँकी सदस्य नियुक्त गरेर सबै मन्त्रीहरुको जिम्मेवारी तोकेका हुन् । नवनियुक्त मन्त्रीहरुले बुधबारै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।
माओवादी केन्द्रबाट निर्वाचित गंगा नारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमारी मोक्तानले सामाजिक विकास मन्त्री, युवराज दुलालले भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा शपथ लिएका हुन्।
त्यस्तै, एमालेबाट निर्वाचित केशव प्रसाद पोखरेलले कृषि तथा पशुपन्छी विकास मन्त्री, रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्री, एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रीको रुपमा शपथ लिएका हुन्।
त्यस्तै, राप्रपाबाट निर्वाचित डम्बर तामाङले पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्टले वन तथा वातावरण मन्त्रीको रुपमा शपथ लिएका हुन्।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथ लिएकै दिन गत पुस २६ मा एमालेका जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा र राप्रपाका उद्धव थापाले बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका थिए। बुधबारको मन्त्रिपरिषद् विस्तारमा थापाले खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी पाएका छन्।