
मेलम्ची । आत्मदाहको प्रयास गरि उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यको छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नं– २ का सांसद मोहन बहादुर बस्नेतले प्रतिवद्वता जाहेर गरेका छन ।
सामाजिक सञ्जाल फेसबुक मार्फत एक विज्ञप्ती जारी गर्दै बस्नेतले प्रेम आचार्यका टुहुरा छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता जाहेर गरेका हुन । नेपालको वर्तमान परिप्रेक्षका एक प्रतिनिधि पात्र एवम् पीडित व्यवसायी प्रेम आचार्यले संघीय संसद् भवन अगाडि कारुणिक रुपमा आत्मादाहाको प्रयास गर्नु एक दुःखद् घटना भएको सांसद बस्नेतले बताए ।
सिन्धुपाल्चोकमा आफ्नो ब्यस्तताका कारण स्वर्गीय आचार्यको परिवार र आफन्तजनलाई प्रत्यक्ष भेट्नको लागि उपस्थित हुन नसकेको उनले विज्ञप्ती मार्फत जनाए । साथै काठमाण्डौ गए लगत्तै उनिहरुलाई भेट्ने बस्नेतले जानकारी दिए । देशको वर्तमान गृहमन्त्री रवि लामिछानेले पिडित परिवार र आफन्तहरु संगको भेटका क्रममा छोरीहरुको पठनपाठन सम्बन्धमा उनिहरुको आग्रहलाई वेवास्था गरेको समेत बस्नेतले बताए ।
आपत्ती र विपत्ति परेका हरेक समस्याहरुलाई सम्बोधन गर्ने आफ्नो पहिचान भएको बस्नेतको भनाई छ । “बाल्यकाल देखिका समाजसेवाका क्रियाकलाप, कोरोना, बाढी, पहिरो, भुकम्प, आगजनी, हुरीबतास जस्ता विपत्तिमा गरिएका कार्यहरु लगायत ३२ वर्षको निशुल्क कोचिङ कक्षा संचालनको ईतिहासलाई साक्षी राख्दै आचार्यजीको दुःखद् निधनप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै टुहुरा छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने घोषणा गर्दछु”, उनले भने ।
आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो । इलामका प्रेमप्रसाद आचार्यले मंगलबार दिउँसो नयाँ बानेश्वरको मूल सडकमा शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए। प्रहरीले आचार्यको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्नअस्पताल लगेको थियो।