
बाह्रबिसे । महिलाहरुको आर्थिक वृद्धि र सीप क्षमता बिकासको लागि बाह्रबिसे नगरपालिका ८ मानेश्वाँराले स्थानीय स्तरमा महिलाहरुको सीप बिकासका लागी वन उधम परियोजनासंग समन्वय गर्दै आएको छ।
ग्रामीण भेगका महिलाहरुको अवस्थालाई मध्यनजर गर्दै मानेश्वाराले स्थानीय स्तरमा सीप बिकास र महिलाहरुको आयआर्जनको वृद्धिमा जोड दिने उद्देश्यले ९ दिने नर्सरी तालीम र ५ दिने कफि प्रशोधन तालीम अाजबाट शुरू गरेकाे हो ।
कफि उत्पादनको लागि चाहिने जग्गा जमिन उपयुक्त देखिएकोले मानेश्वारामा महिलाहरुले कफि खेती गर्न सक्ने वडा अध्यक्ष बिमल पौडेलले बताए । महिलाहरुको सीप बिकास गरि क्षमताको अभिवृद्वि गर्न वडामा यो परियोजना आवश्यक रहेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए ।
बाह्रबिसे नगरपालिकाले कृषिलाई प्राथमिकता दिएको बस्नेतकाे भनाई छ । महिलाहरुको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले सीप बिकास तालीमको आयोजना गरेको वडा अध्यक्ष बिमल पौडेल बताउँछन् ।
वडाका महिलाहरूको लागि कुचो उत्पादन, अम्रीसो, कफि प्रसोधन, तरकारी उत्पादन जस्ता कार्य गरेर आत्मनिर्भर बन्न सकिने देखिएपछि यो परियोजना आमा समुहलाई लक्षित गरेर ल्याइएको हो। तालिममा फलफूलको बोट बिरुवा उमार्ने, कुचो उत्पादन गर्ने अम्रिसो लगाउने जस्ता काम सिकाइने छ ।
महिलाहरुको लागि ९ दिने नर्सरी तालीम, ५ दिने कफि प्रशोधन तालीम सिकाइने छ । ५ रोपनी जग्गामा उक्त परियोजनाले झन्डै १ लाख विरुवा उत्पादन गर्ने र सो नर्सरीमा उत्पादन भएका फलफूल, तथा अन्य बोटविरुवा बाह्रबिसे नगरपालिका भित्र बिक्री तथा वितरण गरिने वडा अध्यक्ष पौडेलको भनाइ छ। । उत्पादन भएका बस्तुहरु बजार लैजान वडा कार्यालयले निशुल्क यातायातको ब्यबस्थापन समेत गर्ने वडा कार्यालयले जनाएको छ।