
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले एमालेले रवि लामिछानेलाई चितवन २ मा हुने उपनिर्वाचनमा सघाउने बताएका छन ।
सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘चितवन २ मा उपनिर्वाचन हुँदैगर्दा रविलाई सत्ता गठबन्धन दलले सहयोग गर्छ। तर, उहाँको नागरिकता विवादसँगै रहेको राहदानी विवादमा कानुनबमोजिम छानविन हुनुपर्छ। प्रश्न उठेपछि सबै मान्छे कानुनी प्रकृयामा जानुपर्छ।’
साथै उनले सत्ता गठबन्धनमा भएको सहमति अनुसार राष्ट्रपतिको निर्वाचनमा एमालेको तर्फबाट सत्ता गठबन्धनले साझा उम्मेदवार उठाउने बताएका छन्। उनले राष्ट्रपतिमा एमालेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि समर्थन गर्ने दाबी गरे।
उनले भने, ‘सरकार गठनको पहल कदमीअनुसार भएको सहमतिमा अब एउटा काम बाँकी छ, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन । राष्ट्रपतिको निर्वाचनमा नेकपा (एमाले) ले प्रस्ताव गरेको पात्र बन्नेछ । त्यसमा प्रचण्डले समर्थन गर्ने छन्।’