सिन्धुपाल्चोक, माघ १७ गते । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका चनौटेमा अस्पताल निर्माण अलपत्र भएको छ। १० शय्याको अस्पताल निर्माण सम्पन्न हुनुपर्ने म्याद सकिन एक हप्ता बाँकी रहँदासमेत ठेकेदार भवन निर्माण नगरी सम्पर्कविहीन भएका छन्।

उक्त अस्पताल निर्माणका लागि जुगल गाउँपालिका र महादेव खिम्ती अञ्जना ताक्सार जेभी काठमाडौँबीच २०७८ साउन ३१ गते आठ करोड १० लाख ८५ हजार ५२२ रुपियाँ ८० पैसामा ठेक्का सम्झौता भएको थियो।

२०७९ फागुन २ भित्र अस्पताल भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएकोमा ठेकेदार कम्पनीले अहिलेसम्म अस्पताल भवनको निर्माण सुरु गरेको छैन । सम्झौतापछि अस्पतालको जग खन्न सुरु गरिए पनि अहिले फलामे रड, सिमेन्टलगायतका सामग्री यत्रतत्र छरिएका छन्। अस्पताल निर्माण कम्पनी काम नगरी सम्पर्कविहीन भएपछि जुगल गाउँपालिकाकै गौरवको आयोजना अलपत्र बनेको छ।

पालिकाका अध्यक्ष रेशम स्याङ्बोले ठेकेदार कम्पनीलाई पटक–पटक भेटेर र फोन गरेर अस्पताल निर्माण गर्न दबाब दिँदासमेत अटेर गरेको बताए । काम नगर्ने ठेकेदारसँग सम्झौता तोड्न नागरिकबाट दबाब आइरहेको उनले बताए।

अस्पताल निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुज्रिन लाग्दासमेत निर्माण कम्पनीले निर्माण अघि नबढाएकाले सङ्घीय सरकार र स्थानीयसँग सुझाव लिइरहेको स्याङ्बोको भनाई छ।

सम्झौताअनुसार बराम्चीमा भवन निर्माण गरिनुपथ्र्यो तर सबै वडालाई पायक र उपयुक्त पर्ने स्थान चनौटेमा जग्गा लिई अस्पताल निर्माण गर्ने सहमति भएको थियो। फेरि उक्त स्थानमा अस्पताल बन्न लागेपछि बराम्चीका बासिन्दाले विवाद सुरु गरेका थिए। पछि सहमति भइसक्दासमेत ठेकेदार कम्पनीले काम अघि बढाएको छैन। गोरखापत्र बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!