
तालामाराङ । विनोद नेपाल स्मृति फाउण्डेशनले श्री गौखुरेश्वर महादेव मन्दिर निमार्णको लागी नगद सहयोग गरेको छ । फाउण्डेशनले शनिवार महा शिवरात्रीको अवसर पारेर एक कार्यक्रमका बिच गौखुरेश्वर महादेव मन्दिर संरक्षण समितिलाई एकलाख एकाउन्न हजार एक सय एघार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ६ तालामाराङ, सिग्देल डाँडामा नव निर्मित वर्षा र सहकालका ईष्टदेवता तथा भगवान शिवको ६४ ज्योतिर्लीङ्ग मध्येका एक श्री गौखुरेश्वर महादेव भगवानको नवनिर्मित मन्दिरको समुदघाटन सांसद मोहन बहादुर बस्नेतले गरेका थिए । कार्यक्रममा बस्नेतद्वारा नवगठित मन्दिर संरक्षण समितिका पदाधिकारीलाई सपथग्रहण समेत गराइएको थियो ।
फाउण्डेशनले गरेको उक्त सहयोग हालसम्म प्राप्त मध्ये सबैभन्दा ठुलो रकम भएको गौखुरेश्वर महादेव मन्दिर निमार्ण समितिका अध्यक्ष चक्रपाणी सिग्देलले जानकारी दिए । सबैको साथ सहयोगले मन्दिर निर्माण सम्पन्न गर्न सफल भएको सिग्देलले बताए । “मन्दिर निर्माण कार्यको लागि फाउण्डेशनले एकलाख एकाउन्न हजार एक सय एघार आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको थियो”, सिग्देलले भने ।
कार्यक्रममा मन्तब्य राख्दै विनोद नेपाल स्मृति फाउण्डेशनका अध्यक्ष डा. गंगादत्त नेपालले सामाजिक कार्यहरुमा आफु सधै सहयोग गर्न तयार रहेको बताए । इन्जिनियर पढेर देशको भविश्य सुधार्ने योजनाका साथ अध्ययन गर्न परदेश गएका विनोदको सपना पूरा नभएको र त्यो सपना पूरा गर्नको लागि फाउण्डेशनले काम गरिरहेको उनले बताए ।
समाजसेवी डा. गंगादत्त नेपालको छोरा विनोद नेपालको उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएको समयमा कार दुर्घटनामा परि निधन भएको थियो । उनको सम्झनामा गठन गरिएको फाउन्डेसनले २०७७ सालदेखि निरन्तर विभिन्न सामाजिक कार्यहरू गर्दै आईरहेको छ ।
फाउण्डेशनले रक्तदान कार्यक्रम, सडक दुर्घटना न्युनिकरणको लागी सडक सुरक्षा सचेतना गर्नुका साथै इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीमा सिभिल इन्जिनियरिङ विषय अध्ययनरत ४ जना विद्यार्थीलाई पुर्ण छात्रवृत्ति समेत प्रदान गरेको छ ।
मेलम्ची–६ तालामाराङ्ग जन्मस्थान भएका नेपाल हाल बुढानिलकण्ठ नगरपालिका–१२, कपन काठमाडौं बस्दै आएका छन ।