सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१ जलविरेमा आयोजित स्वास्थ्य शिविरमा पहिलो दिनमै ७६० जनाले सेवा लिएका छन्। एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान अन्तर्गत जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा बलेफी गाउँपालिकाको समन्वयमा जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको हो।
शिविरमा विशेषज्ञ चिकित्सकसहित सामान्य चि
कित्सा, बालरोग, नाक–कान–घाँटी, आँखा, दाँत तथा मुख स्वास्थ्य, क्षयरोग स्क्रिनिङ, एक्स–रे, स्त्री तथा प्रसूति सेवा, स्वास्थ्य परीक्षण, उपचार, परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो। जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईका अनुसार पहिलो दिन ७६० जनाले सेवा लिएका हुन्।
ग्रामीण भेगका तथा आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकेका बिरामीहरू शिविरबाट प्रत्यक्ष लाभान्वित भएका बलेफी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार भोलि वडा नं. ४ मा पनि यस्तै शिविर आयोजना गरिनेछ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले स्वास्थ्य शिविरमा परीक्षणपछि गम्भीर रोग देखिएका बिरामीहरूको उपचारमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो। उहाँले वर्षौंदेखि उपचार नपाएका बिरामीलाई लक्षित गर्दै शिविरलाई निरन्तरता दिइएको उल्लेख गर्नुभयो।
मन्त्री थापा मगरले जलविरे प्राथमिक स्वास्थ्य केन्द्रको भौतिक संरचना निर्माण भइसकेको भन्दै अब त्यसलाई आधारभूत अस्पतालका रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। “जनशक्ति उत्पादनका लागि अध्ययन सुरु गरेका छौँ, त्यसलाई व्यवस्थापन गरी स्थानीय तहसम्म पुर्याउँछौँ,” उहाँले भन्नुभयो।
प्रदेश सरकारले ‘एक जिल्ला–एक स्वास्थ्य शहर’ र ‘एक पालिका–एक नमुना स्वास्थ्य संस्था’ जस्ता कार्यक्रम अघि बढाएको उल्लेख गर्दै उहाँले ९८ प्रकारका निःशुल्क औषधि प्रभावकारी रूपमा नागरिकसम्म पुर्याउने दिशामा सरकार सक्रिय रहेको बताउनुभयो।
त्यस्तै, बागमती प्रदेशसभा सदस्यहरू सरल सहयात्री पौडेल र अमृता नेपालले यस्ता शिविरलाई गाउँ–गाउँमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्वास्थ्य संस्थाहरूमा पर्याप्त जनशक्ति र उपकरण उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो।


जनस्वास्थ्य कार्यालयका प्रमुख बजगाईले शिविरबाट थप उपचार आवश्यक परेका बिरामीलाई चौतारा, भक्तपुर र धुलिखेल लगायतका अस्पतालमा रिफर गरिने जानकारी दिनुभयो।
बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले स्वास्थ्य संस्थाको भौतिक संरचना भए पनि आवश्यक जनशक्ति र स्रोत अभावका कारण पूर्ण रूपमा सञ्चालनमा चुनौती रहेको बताउँदै प्रदेश सरकारसँग सहयोगको माग गर्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा नं. १ का अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष हुपबहादुर खड्काले पनि आधारभूत अस्पताल सञ्चालनका लागि जनशक्ति र उपकरणको अभाव रहेको औंल्याउनुभयो।
