मेलम्ची, सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिकाले शनिवारबाट मेलम्ची बजार आसपासमा अतिक्रमण गरी बनेका घरटहरा, होडिङ बोर्ड, सडक पेटि अतिक्रमण गरी बनाइएका संरचना तथा सामाग्री भत्काउन सुरु गरेको छ ।
पैँतीस दिने सूचना जारी गरे पनि अतिक्रमित संरचना आफैँ नभत्काएपछि उक्त संरचना पालिका आफैँले भत्काउन लागेको नगरपालिकाले जनाएकाे छ । सूचनाकाे बेवास्ता गरेपछि मेलम्ची नगरपालिकाले डाेजर लगाएर अतिक्रमित संरचना हटाउन शुरू गरेकाे हाे ।

गत पुस २६ गते बसेको कार्यपालिका बैठकले बजारका अव्यवस्थित संरचना हटाउने निर्णय गरेको थियो । मेलम्ची बजारको वडा नं ११ स्थित मेलम्ची खानेपानीको साइट कार्यालय देखि मेलम्ची बजार सहित होटल रिभर साइड इन सम्मको क्षेत्रमा मुख्य सडकको दायाँबायाँ निर्माण भएका अस्थाई संरचना हटाउन नगरपालिकाले सूचना मार्फत अनुराेध गरेकाे थियाे ।
बजारलाई ब्यबस्थित बनाउनकाे लागि मेलम्ची नगरपालिका वडा नं ११ का अध्यक्ष चन्द्र बहादुर तामाङकाे अध्यक्षतामा बजार व्यवस्थापन समिति बनाइएकाे थियाे । साेहि समितिकाे निर्णय अनुसार ३५ दिने सूचना नगरपालिकाले जारी गरेकाे थियाे ।
३५ दिने सूचनाकाे म्याद नसकिँदै अधिकांस स्थानिय तथा ब्यापारीहरूले स्वतस्फुर्त रूपमा अतिक्रमित अस्थाई संरचना हटाएका थिए । सूचनाकाे बेवास्ता गरि नहटाइएकाे एक दर्जन बढी संरचनामाथी मेलम्ची नगरपालिकाले डाेजर चलाएकाे हाे ।
मेलम्ची नगरपालिकाले बजार व्यवस्थापनका लागी चालेको अभियान प्रति मेलम्चीका व्यवसायीले पुर्ण समर्थन गरेका छन । मेलम्ची बजारकाे व्यवस्थापन मात्र नभई तालामाराङ, बाहुनेपाटि, दुवाचाैर, भाेटेचाैर लगायतका बजार क्षेत्रमा पनि नगरपालिकाले ध्यान दिनुपर्ने व्यवसायी रामकृष्ण चालिसेले बताएका छन । बजार व्यवस्थापन अभियानमा लाग्ने मेलम्ची नगरपालिका टिम, सुरक्षाकर्मी, समाजसेवी लगायतलाई उनले धन्यवाद दिए ।
मेलम्ची नगरपालिकाकाे अभियान प्रति मेलम्ची नगर उद्याेग वाणिज्य संघले पुर्ण समर्थन जनाएकाे संघका महासचिव तारा बहादुर वानियाँले जानकारी दिए । संरचना भत्काउने मात्रै नभई त्यसलाई मेलम्ची नगरपालिकाले उचित व्यवस्थापन समेत गर्नुपर्ने उनकाे माग छ ।
अतिक्रमित संरचना हटाउँदा सडक फराकिलाे हुनुका साथै बजार सुन्दर देखिएकाे स्थानियले बताएका छन । मेलम्चीमा पार्किङकाे पनि उचित व्यवस्थापन हुनुपर्ने स्थानिय बिष्णु प्रसाद (आकश) दुलालले बताए ।
मेलम्चीका व्यवसायीहरूले नगरपालिकाकाे अभियानलाई पुर्ण समर्थन गरेपनि उनिहरूले विभिन्न मागहरू राखेका छन । बजारवासीका यस्ता छन माग :
- फाेहरमैलाकाे स्थाई रुपमा व्यवस्थापन हुनुपर्ने
- सडक अतिक्रमणभित्रका बिद्युतिय पाेल व्यवस्थापन हुनुपर्ने
- सडक फुटपाथ बनाउनुपर्ने
- सरसफाइ कुचिकार राख्नुपर्ने
- बसपार्क व्यवस्थापन गरि कम्तिमा बजारभित्र आ आफ्ना ठाउँको वेटिङ स्टेसन बनाउनुपर्ने
- बजार सुरक्षाका लागि सबै ठाउँमा सिसि क्यामेरा जडान हुनुपर्ने
- माेटरसाइकल पार्किङ व्यवस्थापन हुनुपर्ने
- बाजार क्षेत्रमा साेलार वत्तीकाे व्यवस्थापन हुनुपर्ने
- बजार क्षेत्र भित्र लाेड अनलाेड निश्चित समयभित्र हुनुपर्ने
- बजार क्षेत्र बाट देखिने भित्ता जङ्गलमा आकर्षक विरुवा राेप्नुपर्ने
- साैचालय लगायतकाे ढल व्यवस्थापन गरि बजार बिस्तार हुनुपर्ने ।






