सिन्धुपाल्चाेक । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा सिन्धुपाल्चाेकका १२ पालिकामध्ये मेलम्ची नगरपालिकाले उच्चतम अङ्क प्राप्त गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा मेलम्चीले ९४.५ अङ्क प्राप्त गरेर सिन्धुपाल्चाेकका स्थानियतह मध्ये उच्चतम प्रदर्शन गर्ने स्थानीय तह भएको हो । मूल्याङ्कनका विभिन्न विषय क्षेत्रका सूचकहरू पूरा गर्दै मेलम्ची जिल्लाकै प्रथम भएकाे नगरप्रमुख आइतमान तामाङले जानकारी दिए ।
योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण, राजस्व व्यवस्थापनजस्ता मूल्याङ्कनका विषय क्षेत्रमा मेलम्चीले जिल्लाकै उत्कृष्ट अङ्क ल्याउन सफल भएको बताइएको छ ।

एक सय पूर्णाङ्कमा मेलम्ची नगरपालिकाले ९४.५ अङ्क ल्याएको छ । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा जिल्लाका १२ स्थानीय तहमध्ये सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका ५३.८४ अंक सहित जिल्ला प्रथम र देशकै चाैथाे भएकाे थियाे ।
अनियमितता कम भएका कारण मेलम्ची नगरपालिका जिल्लाकै पहिलो भएको नगर प्रमुख तामाङले बताए । उनले भने, ‘कानुनसम्मत चल्न सके सफल भइँदो रहेछ ।’ राजनीतिक दल र जनताको भावना बुझेर काम गर्दा यो परिणाम प्राप्त गर्न सफल भएको उनको भनाइ छ ।
स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनको सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी त्यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन गरिँदै आएको छ ।
सिन्धुपाल्चाेकका कुन स्थानिय तहकाे कति अंक :
मेलम्ची नगरपालिका ९४.५, इन्द्रावती गाउँपालिका ९१, जुगल गाउँपालिका ९०.५, चाैतारा साँगाचाेकगढी नगरपालिका ८६, लिसङखु पाखर गाउँपालिका ८२, सुनकाेशी गाउँपालिका ८२, भाेटेकाेशी गाउँपालिका ८१.५, बलेफी गाउँपालिका ८१.५, बाह्रविसे नगरपालिका ७४.५, त्रिपुरासुन्दरी गाउँपालिका ७३, पाँचपाेखरी थाङपाल गाउँपालिका ७० र हेलम्बु गाउँपालिका ले भने यसमा सहभागिता जनाएकाे थिएन ।
