सिन्धुपाल्चाेककाे बलेफी गाउँपालिकाले आफ्ना जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकका बालबालिकालाई सामुदायिक विद्यालयमा नै पठन पाठन गराउन परिपत्र जारी गरेकाे छ ।
२०८० बैशाख २५ गतेकाे कार्यपालिकाले जनप्रतिनिधि तथा कर्मचारीका छाेरा छाेरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पठन पाठन गराउनु पर्ने निर्णय गरेकाे थियाे ।

सामुदायिक विद्यालयमा सबैकाे समान पहुँच, सहभागिता तथा अपनत्व वाेध गराई विद्यालयकाे शैक्षिक, भाैतिक तथा व्यवस्थापकीय गुणस्तर सुनिश्चित गर्न यस्ताे निर्णय गरिएकाे गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले बताए ।
आम जनताको सामुदायिक विद्यालय प्रतिकाे विश्वास अभिवृद्धिका लागि याे निर्णय गरिएको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । गत वर्षनै यस्ताे निर्णय गरिएको भए पनि कार्यान्वयनमा आउन सकेकाे थिएन। तर यस वर्ष देखि याे निर्णय अनिवार्य कार्यान्वयनमा ल्याईने गाउँपालिका अध्यक्ष तामाङले बताए ।

