मेलम्ची । सिन्धुपाल्चोककोे मेलम्ची नगरपालिकाले पालिका मातहतका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने निर्णय गरेको छ ।
शुक्रबार नगरपालिकामा बसेको कार्यापालिका बैठकले आगामी शैक्षिक सत्रका लागि सामुदायिक विद्यालयमा समान पहुँच र अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्दै शैक्षिक गुणस्तर सुधार एवम् प्रभावकारी बनाउन सो निर्णय गरीएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए ।

आगामी शैक्षिक सत्रका लागि आउँदो वैशाख २ गतेबाट नयाँ भर्ना सुरु हुने भएकाले नगरपालिकाको कार्यापालिका बैठकको निर्णय अनुसार अब सरकारी कोषबाट तलबभत्ता एवम् सेवा सुविधा प्राप्तगर्ने सम्पुर्ण जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरुले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने उनले बताए । मेलम्ची नगरपालिका स्थाई बसोबास भई नगरपालिका क्षेत्रभित्र सरकारी निकाय, सामुदायिक विद्यालय, एवम् विभिन्न सघं संस्थामा कार्यरत कर्मचारीहरुले आफ्ना बालबालिकालाई निजि विद्यालयमा पठनपाठन गरिरहेको अवस्थामा शैक्षिक गुणस्तर दिनप्रतिदिन कमजोर हुँदै गएकाले सो निर्णय गर्न बाध्य भएको प्रमुख तामाङले बताए ।
निर्णय कार्यान्वयनमा गएपछि अभिभावकहरुले विद्यालयको शैक्षिक प्रणाली र व्यवस्थापनको निगरानी गर्ने भएकाले शिक्षाको गुणस्तरीयतामा वृद्धि हुने विश्वास रहेको नगर उपप्रमुख उमा प्रधानले बताइन । आफ्नो सन्तानले पढेपछि विद्यालय र शिक्षकलाई अभिभावकले पनि सचेत गराउने उनले बताइन ।
नगर बाल अधिकार समितिकाे प्रस्तावमा कार्यपालिकाले यस्ताे निर्णय गरेकाे मेलम्ची नगरपालिकाका महिला बालबालिका तथा समावेशीकरण शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिए ।
