मेलम्ची । ईलाका प्रहरी कार्यालय मेलम्चीद्वारा आइतवार आ.व २०८०/८१ को श्रावण देखि हालसम्म गरेका कार्य प्रगती सार्वजनिक गरिएकाे छ ।
प्रहरीको कार्यप्रगति प्रस्तुती संगै नागरिकको गुनासो तथा सुझाव संकलन गर्न इलाका प्रहरी कार्यालय मेलम्चीले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । प्रहरी सेवा प्रवाहलाई नागरिक मैत्री, पारदर्शी, निष्पक्ष, छिटो छरितो, चुस्तदुरुस्त बनाउनुका साथै सेवाग्राहीले उठाएका प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरिकका रचनात्मक सुझावलाई ग्रहण गरी जिम्मेवार प्रहरी सेवा बनाउने ध्येयका साथ नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक राजेन्द्र थापामगरले जानकारी दिए ।

गत साउन यता मात्रै प्रहरीले समुदाय प्रहरी साझेदारी अन्तर्गत बिभिन्न ६९ वटा कार्यक्रमहरु सम्पन्न गरीएको प्रहरी निरीक्षक थापामगरले जानकारी दिए । जसमध्ये सवारी चालक तथा सहचालकहरुका लागि स्वास्थ्य शिविर संचालन, चोरी डकैती, घरेलु तथा लैँगिक हिँसा रोकथाम, सवारी दुर्घटना न्यूनीकरणका उपाय लगायतका बिषयमा स्थानीय तथा जनप्रतिनिधीहरु संगको छलफल, माध्यमिक विद्यालय स्तरीय सम्पर्क समितिहरु गठन जस्ता बिभिन्न कार्यहरु सम्पन्न गरिएकाे हाे ।
यस्तै इलाका प्रहरी कार्यालय मेलम्चीले कार्यालयको सिमा क्षेत्रमा नयाँ चेकपोइन्ट संचालन, दुर्घटना संम्भावित क्षेत्रको पहिचान र सचेतनाका लागि पुरानो मोटरसाइकलको अस्थिपञ्जर राखिएको, मेलम्ची बजार क्षेत्रमा बढ्दो सुरक्षा चुनौति समाधानको लागि बिभिन्न स्थानमा सिसिटिभी जडान, नागरीक सहायक कक्ष सिसिटिभी मोनिटरिङ कक्ष स्थापना, अबैध ढुङगा खानीहरु बन्द, सडकमा बस्ने वेवारिसे मानिसको उद्धार, प्रहरी कार्यालयको भौतिक संरचनाको सुरक्षाको लागि पर्खाल निर्माण गरिएकाे कार्यप्रगती प्रतिवेदनमा उल्लेख छ ।
कार्यालयले यस आ.व.को हालसम्म अपराध अनुसन्धान तर्फ बिभिन्न शिर्षकमा ३६ वटा मुद्धा दर्ता गरी अपराध नियन्त्रण गर्नमा उल्लेख्य सफलता हासिल गरेको प्रगती प्रतिवेदनमा भनिएकाे छ । मेलम्ची क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षा चेकजाँचमा कडाई गर्दे ट्राफिक प्रहरी संगको समन्वयमा साउन यता मात्रै बिभिन्न शिर्षकमा ७२३ पटकको कारवाहीमा ८५९०००/ (अक्षरुपी आठ लाख उनान्साठ्ठी हजार ) राजश्व संकलन गर्न समेत सफल भएको निरिक्षक थापामगरले जानकारी दिए ।
