इष्ट पोइन्ट एकेडेमीले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा ऐतिहासिक सफलता हासिल गरेको छ । विद्यालयबाट सहभागी सबै १६ जना विद्यार्थी उत्तीर्ण हुँदै १०० प्रतिशत नतिजा ल्याउन सफल भएका हुन् । तीमध्ये ११ जनाले ३.६० देखि ४.० GPA हासिल गर्दै उत्कृष्ट (A+) ग्रेड प्राप्त गरेका छन् भने बाँकी ५ जनाले ३.३० देखि ३.६० GPA सहित A ग्रेड हासिल गरेका छन् ।
विद्यालयले यस वर्ष समग्र GPA तर्फ ३.६४ औषत नतिजा प्राप्त गर्दै हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र इन्द्रावती गाउँपालिकाभित्र सबैभन्दा धेरै A+ ल्याउने विद्यालयको रूपमा आफूलाई स्थापित गरेको जनाएको छ ।
विद्यालयको निरन्तर उत्कृष्ट नतिजाले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण तथा विद्यालय व्यवस्थापनको प्रभावकारिता स्पष्ट देखाएको छ । दुर्गम क्षेत्रमै रहेर पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएपछि स्थानीय समुदाय, अभिभावक तथा शिक्षा क्षेत्रका सरोकारवालाले विद्यालयको प्रशंसा गरेका छन् ।
विद्यालयका प्रिन्सिपल दामोदर भारतीले यस सफलताप्रति खुसी व्यक्त गर्दै यो उपलब्धि केवल अंकको सफलता नभई सम्पूर्ण विद्यालय परिवारको मेहनत, अनुशासन र निरन्तर समर्पणको परिणाम भएको बताउनुभयो । उहाँले विद्यार्थीहरूको अथक प्रयास, शिक्षकहरूको जिम्मेवार भूमिका तथा अभिभावकहरूको विश्वासकै कारण विद्यालयले फेरि उत्कृष्ट नतिजा ल्याउन सफल भएको उल्लेख गर्दै आगामी दिनमा अझ उच्च उपलब्धिका लागि विद्यालय प्रतिबद्ध रहने धारणा राख्नुभयो ।
विद्यालयले वर्षौंदेखि शैक्षिक गुणस्तर, अनुशासन, अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीमैत्री सिकाइ वातावरणलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ । SEE–२०८२ को नतिजासँगै इष्ट पोइन्ट एकेडेमीले आफूलाई सिन्धुपाल्चोककै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा पुनः स्थापित गरेको छ ।
यसैबीच, शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुपाल्चोकले प्रकाशित गरेको उत्कृष्ट २० विद्यार्थीको सूचीमा पनि इष्ट पोइन्ट एकेडेमीका ३ जना विद्यार्थी पर्न सफल भएका छन् ।

