पाँचपोखरी थाङपाल गाउँपालिका–६ मा शिक्षा र आर्थिक सशक्तीकरणलाई सँगसँगै अघि बढाउने उद्देश्यले शैक्षिक सामग्री वितरण तथा आयआर्जन सहयोग कार्यक्रम सम्पन्न गरिएको छ ।Tdh Foundation र परिवर्तनका लागि सहकार्य नेपालको साझेदारीमा संचालित प्रयत्न परियोजना अन्तरगत परिवर्तनका लागि सहकार्य नेपालको सहकार्यमा आयोजित कार्यक्रममा विद्यार्थी तथा लक्षित परिवारलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रम अन्तर्गत थाङपालधाप माध्यमिक विद्यालय, गोल्मेश्वरी आधारित विद्यालय तथा बछ्छलामाई आधारभूत विद्यालयका ३६ जना विद्यार्थीलाई झोला, कापी, कलम, पानीको बोतल, छाता तथा विद्यालय पोशाक लगायतका सामग्री वितरण गरिएको संस्थाकी कार्यक्रम संयोजक नम्रता लामाले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका तथा सहयोग आवश्यक रहेका बालबालिकाको शिक्षामा निरन्तरता कायम राख्दै विद्यालयप्रतिको निरन्तरता वृद्धि गर्ने उद्देश्यले सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

!
त्यसैगरी परियोजना अन्तर्गत १३ परिवारलाई आयआर्जन सहयोगस्वरूप बाख्रा वितरण गरिएको छ । ग्रामीण क्षेत्रमा पशुपालनमार्फत आय वृद्धि गर्दै परिवारलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सहयोग गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा सहभागी पाँचपोखरी थाङपाल गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीले शिक्षा र आर्थिक पक्षलाई सँगै जोडेर सञ्चालन गरिएका यस्ता कार्यक्रम समुदायका लागि उपयोगी र प्रभावकारी हुने बताउनुभयो । बालबालिकाको शैक्षिक अवसर विस्तारसँगै परिवारको आर्थिक अवस्था सुधारमा समेत यस्ता गतिविधिले सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो ।

बाख्रा प्राप्त गरेका परिवारहरूले पनि सहयोगले उत्साह थपेको प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार पशुपालनमार्फत आयआर्जनको अवसर विस्तार हुने र भविष्यमा परिवारको आर्थिक अवस्था मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय समुदाय तथा विद्यार्थीहरूको सहभागितामा सम्पन्न कार्यक्रमलाई शिक्षा, सामाजिक विकास र आर्थिक आत्मनिर्भरतातर्फको साझा प्रयासका रूपमा हेरिएको छ । स्थानीयस्तरमा यस्ता कार्यक्रमले बालबालिकाको शैक्षिक भविष्यसँगै समुदायको दीगो विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
