BREAKING
हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन |

सिन्धुपाल्चोक जिल्लाको प्रतिष्ठित क्रिकेट प्रतियोगिताका रूपमा स्थापित आठौँ पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता २०८३ यही जेठ २७ गतेदेखि असार ३ गतेसम्म सञ्चालन हुने भएको छ । मूलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा जिल्लाका सात टोली सहभागी हुनेछन् ।
पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समिति र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताले जिल्लामा क्रिकेट खेलको विकास, विस्तार र नयाँ प्रतिभाको पहिचानमा महत्वपूर्ण योगदान पुर्‍याउने पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले विश्वास व्यक्त गर्नुभयो ।
आयोजकका अनुसार पहिलो तीन संस्करण पाँचपोखरी थाङपाल गाउँपालिकामै सम्पन्न भएका थिए भने त्यसपछिका तीन संस्करण मूलपानी क्रिकेट मैदानमा आयोजना गरिएको थियो । गत वर्षको संस्करण भने ऐतिहासिक रूपमा नेपालकै प्रतिष्ठित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सफलतापूर्वक सम्पन्न भएको थियो । यस वर्ष पुनः जिल्लास्तरीय खेलाडीहरूको सहभागितासहित प्रतियोगितालाई निरन्तरता दिइएको हो ।
प्रतियोगितामा सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा पाँचपोखरी क्रिकेट क्लब, थाङपाल भ्याली सेकेन्डरी स्कुल, हेलम्बु गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका रहेका छन्। यस्तै समूह ‘बी’ मा मेलम्ची नगरपालिका, पाँचपोखरी हिमालयन क्रिकेट टिम र साँगाचोक युथ क्लब रहेका जिल्ला क्रिकेट संघका अध्यक्ष विजयकुमार धितालले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन खेलमा जेठ २७ गते बिहान ९ बजे चौतारा साँगाचोकगढी नगरपालिका र हेलम्बु गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । सोही दिन दिउँसो १ बजे पाँचपोखरी क्रिकेट क्लब र थाङपाल भ्याली सेकेन्डरी स्कुल आमनेसामने हुनेछन् । लिग चरणका खेलहरू जेठ ३१ गतेसम्म सञ्चालन हुनेछन् भने असार १ गते दुई सेमिफाइनल खेल आयोजना गरिनेछ । प्रतियोगिताको भव्य फाइनल असार २ गते हुने धितालले बताउनुभयो ।
आयोजकले प्रतियोगितामा सहभागी टोलीका खेलाडीहरूलाई समयमै मैदानमा उपस्थित हुन आग्रह गरेको छ । खेल सुरु हुनुभन्दा कम्तीमा एक घण्टा अगाडि टोलीहरूले ग्राउन्ड रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले पचास हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसका अतिरिक्त प्रतियोगितामा प्लेयर अफ द सिरिज, बेस्ट ब्याटर, बेस्ट बलर तथा प्लेयर अफ द फाइनल लाई समेत विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार यसअघि प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लावासी खेलाडी मात्र सहभागी हुन पाउने व्यवस्था रहेको थियो। तर यस वर्षदेखि प्रत्येक टोलीले जिल्लाबाहिरका बढीमा दुई जना खेलाडी सहभागी गराउन सक्ने व्यवस्था गरिएको छ। बागमती प्रदेशका विभिन्न उमेर समूहका प्रतियोगिता तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरिसकेका खेलाडीहरूलाई समेत समेट्न सकिने व्यवस्थाले प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तर अझ उकास्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। गत संस्करणमा १९ बर्ष मुनिका नेपालका कप्तान गरिसकेका रित गौतम,रोशन बिक,उत्तम थापामगर,बिबेक रानामगर,प्रतिक श्रेष्ठ लगायतका खेलाडीहरुले समेत खेलिसकेका छन् ।


खेलकुद विकास समिति पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष ग्याल्बो सामदेन तामाङले प्रतियोगिताले जिल्लाका क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्पूर्ण खेलप्रेमी, सरोकारवाला निकाय, स्थानीयवासी तथा सञ्चारकर्मीलाई प्रतियोगिताको सफलताका लागि सहयोग र सहभागिताको आग्रह समेत गर्नुभएको छ ।
जिल्लामा क्रिकेट खेलप्रतिको बढ्दो आकर्षणलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको यस प्रतियोगिताले युवा खेलाडीहरूलाई प्रोत्साहन गर्दै सिन्धुपाल्चोकलाई क्रिकेटको उदीयमान केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय