सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बाह्रबिसे नगरपालिकाले कक्षा १२ सम्म नि:शुल्क पढाउने व्यवस्था गरेर देशभरिमै शिक्षाकाे क्षेत्रमा उत्कृष्ट काम गरेको बताएका छन् ।
बाह्रबिसे नगरपालिकाको १४ औं नगरसभालाई आईतबार बाह्रबिसेमा सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा नि:शुल्क हुनु पर्ने अभियानमा आफु लागेको दावी गर्दै आफ्नो अभियानलाई बाह्रबिसे नगरपालिकाले कार्यान्वयन गरेर शिक्षाको क्षेत्रमा गतिलो काम गरेको बताए । मन्त्री बस्नेतले भने, ‘ देशभरिका सरकारी विद्यालयमा कक्षा १२ सम्मको शिक्षा नि:शुल्क हुनु पर्छ भन्ने अभियानमा म लागेको छु । सिन्धुपाल्चोकका बाह्रबिसेसँगै भोटेकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाले पनि कक्षा १२ सम्म नि:शुल्क पढाउने अभियान सुरु गरेपछि यसको सकारात्मक सन्देश देशभर फैलिएको छ । सरकारले अब छिट्टै कक्षा १२ सम्मको शिक्षा नि:शुल्क गर्छ ।’

शिक्षा र स्वास्थ्यलाई हरेक स्थानिय सरकारले आफ्नो पहिलो प्राथमिकतामा राख्नु पर्नेमा मन्त्री बस्नेतले जोड दिए । विकास गर्ने नेता र गफमात्र दिएर झुक्याउने नेतालाई जनताले चिन्नु पर्ने बताउँदै बस्नेतले जिल्लाको विकास नगर्ने, जनताका सुखदुखमा साथ नदिने, विरामी पर्दा उपचार गर्न पहल नगर्ने जनप्रतिनिधिको अस्तित्व नरहने मन्त्री बस्नेतले ठोकुवा गरे ।
विकास नगर्ने र जनताको सुख दुखमा साथ नदिने नेतालाई मतदानका बेला मतदान नगरेर देखाइदिनु पर्ने मन्त्री बस्नेतको भनाई थियो ।
