सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिकाले मेलम्ची बजारको मुख्य सडकको दायाँबायाँ बनेका अस्थाई संरचना (भर्याङ, बार्दली, कौसी र सडक पेटी लगायत संरचना) हटाउन जारी गरेको सूचनालाई कार्यान्वयन गराउन आज मेलम्ची बजारको अनुगमन गरेको छ ।
अनुगमन गर्दै सम्बन्धीत घरधनीलाई मापदण्ड बमोजिम नरहेका भर्याङ,कौसी,सडक पेटि मिचेर ब्यापारका लागी राखिएको सामग्री हटाउन आग्रह गरेको छ । मेलम्ची बजारको वडा नं ११ स्थित मेलम्ची खानेपानीको साइट कार्यालय देखि मेलम्ची बजार सहित होटल रिभर साइड इन सम्मको क्षेत्रमा मुख्य सडकको दायाँबायाँ निर्माण भएका अस्थाई संरचना हटाउन नगरपालिकाले आज अनुरोध गरेको हो । यी संरचना हटाउनका लगि नगरले ३५ दिने सुचना जारी गरेको छ ।

वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङको अध्यक्षतामा बनेको कार्यदलले आज बजार अनुगमन गरेको हो । सूचनालाई बेवास्ता गरी सूचनाले तोकेको अस्थाई संरचना ३५ (पैंतीस) दिन भित्र नहटाईएमा स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम प्रक्रिया अगाडी बढाउने र उक्त संरचना हटाउदा लाग्ने सम्पूर्ण खर्च घर धनी स्वयंवाट सरकारी बाकीं सरह असुलउपर गरिने नगरपालिका द्धारा जारी सुचनामा उल्लेख गरिएको छ । अनुगमनकाे क्रममा भर्याङ्, रेलिङ, जस्ता टहरा अस्थायी संरचना र मापदण्ड विपरित रहेका संरचना हरु सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र हटाउन निर्देशन दिइएको मेलम्ची नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिए ।
गत पुस २६ गते बसेको कार्यपालिका बैठकले बजारका अव्यवस्थित संरचना हटाउने निर्णय गरेको थियो ।
अनुगमनमा मेलम्ची नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सन्जिब तामाङ वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम बहादुर तामाङ वडा नम्बर ९ का वडा अध्यक्ष किरण दिप खड्का वडा नम्बर १० का वडा अध्यक्ष अमृत खनाल वडा नम्बर ११ का वडा अध्यक्ष एवम बजार ब्यबस्थापन कार्यदलका संयोजक चन्द्र बहादुर तामाङ वडा १२ का वडा अध्यक्ष गणेश तामाङ मेलम्ची नगर कार्यपलिका सद्स्य गोमा दुलाल सीता माया तामाङ,इन्जिनियर जितबहादुर कार्की,उपभोक्ता हित संरक्षण मंच मेलम्चीका अध्यक्ष शालिकराम अधिकारी, नगर उद्योग वाणिज्य संघ ,प्राविधिक नगरपालिकाका कर्मचारी सुरक्षाकर्मी स्थानिय लगाएतको उपस्थिति रहेको थियो ।

