मेलम्ची नगरपालिका वडा नं. ६ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३३ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा टीम नेपाल संस्थामार्फत दश सेट प्रोजेक्टर, बाल उद्यान खेल सामग्री र कक्षा ११ मा अध्ययनरत सबै विद्यार्थी सहित अन्य छात्रवृत्ति समेत गरी दश लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङमार्फत विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेका संस्थाका अध्यक्ष निलबहादुर शाहीले प्रधानाध्यापक योगबहादुर अर्याललाई उक्त सहयोग हस्तान्तरण गरेका हुन । संस्थाले विद्यालयको स्थापनादेखि नै शैक्षिक तथा भौतिक उन्नयनको लागि सहयोग र सहकार्य गर्दै आइरहेको छ । विद्यालयको शैक्षिक गतिबिधिलाई प्रभावकारी बनाउन र समय अनुसार विद्यालयलाई प्रबिधिमा रुपान्तरण गर्न टेवा पुर्याउने उद्देश्यले उक्त सहयोग हस्तान्तरण गरिएको अध्यक्ष निलबहादुर शाहीले जानकारी दिए ।

शिक्षणलाई प्रबिधिसँग जौड्दै डिजिटिल सिकाइ सहजीकरणका लागि हरेक कक्षाकोठामा प्रोजेक्टर जडान गरिने र पूर्ब प्राथमिक तहका विद्यार्थीका लागि रमाउँदै सिक्ने वातावरण तयार गर्ने विद्यालयको योजना अनुसार सहयोगका लागि समन्वय भएको विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णप्रसाद ढुङगानाले जानकारी दिए ।
मेलम्ची नदीमा आएको बाढीका कारण जोखिममा परेको विद्यालयको संरक्षणदेखि कोभिड संक्रमणको समयमा वैकल्पिक सिकाइ सहजीकरणको वातावरण निर्माण गर्न संस्थाले गरेको सहयोगको भूमिका उल्लेखनीय रहेको पुर्व प्रअ ढुङ्गानाले बताए ।
