मेलम्ची नगरपालिकाको सहकार्यमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरूका लागि आयोजित ‘ट्राफिक शिक्षक कार्यक्रम’ मेलम्चीमा सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले ट्राफिक नियमको कडाइका साथ पालना गरे मात्र सवारी दुर्घटना न्यूनीकरण सम्भव हुने बताउनुभयो। उहाँले हेलमेट नलगाउने, लापरबाही गर्ने तथा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका विशेष अतिथि प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले नागरिकको ज्यान सुरक्षीत राख्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्नुभयो। गम्भीर प्रकृतिका दुर्घटनाबाट जोगिन विद्यालय, शिक्षक र अभिभावकसम्म ट्राफिक सचेतना पुर्याउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ थियो। समाजका अग्रणी व्यक्तिका रूपमा शिक्षकको दायित्व अझ ठूलो हुने बताउँदै उहाँले कानुनी कारबाही रहर नभई बाध्यता भएको स्पष्ट पार्नुभयो।
मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले ट्राफिक नियमसम्बन्धी यस्ता कार्यक्रमले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले शिक्षकहरूलाई स्वयं हेलमेट अनिवार्य रूपमा लगाउन र विद्यार्थीहरूलाई पनि लगाउन सिकाउन आग्रह गर्नुभयो ।
इन्द्रावती गाउँपालिकाको सूचना



जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले कार्यक्रमको उद्देश्य स्पष्ट पार्दै विद्यालय तहबाटै ट्राफिक नियमसम्बन्धी ज्ञान प्रदान गरी जिम्मेवार र अनुशासित चालक उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभयो। शिक्षकबाट विद्यार्थी र विद्यार्थीबाट अभिभावकसम्म सचेतना फैलाउँदै सवारी दुर्घटनालाई शून्यमा झार्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ थियो।
कार्यक्रममा ट्राफिक नियम, सवारी दुर्घटनाबाट हुने क्षति, कानुनी प्रक्रिया लगायतका विषयमा प्रशिक्षण तथा जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा उपअनुसन्धान निर्देशक सुवास कार्की, मेलम्चीस्थित सशस्त्र प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राम थापा, जिल्ला ट्राफिक कार्यालयका वरिष्ठ नायब निरीक्षक विष्णु थापा लगायतको उपस्थिति रहेको थियो।
