सिन्धुपाल्चोक । मेलम्चीको आधारभूत डिजाइनमै त्रुटि पाइएको छ । बाढीले अधिकांश संरचना पुरिएको भएपनि अहिले सामान्य मर्मतको भरमा मेलम्चीको पानी काठमाडौं ल्याइएको छ । बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची मुहानको गेग्रान हटाएर २६ किमि सुरुङमार्फत सुन्दरीजलमा पानी ल्याएर पाँच महिनापछि पुनः वितरण थालिएको हो ।
मूल खोलालाई दुईतिर विभाजन गरेर २ सय ६० मिटर सुरुङबाट मूल सुरुङमा पानी पठाइएको छ । मुहान क्षेत्रमा निर्माण गरिएका अधिकांश संरचना बाढीले पुरिएका छन भने कतै भवन पल्टेका छन् । मुहान वरपर ठूला ढुंगा थुप्रिएका छन । ठूलो पानी परे पहिरो खसेर मुहान पुर्ने खतरा कायमै छ ।
इन्द्रावती गाउँपालिकाको सूचना


एक अध्ययनअनुसार मुहानको हेडवर्क्स अहिले भइरहेको स्थानमा उपयुक्त नभएको पाइएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले भने तत्काल स्थायी संरचना बनाउने योजना नरहेको बताए । उनले भने, ‘अहिले बाढीले भत्काएको प्रवेश मार्ग बनाउने पैसा छैन, चालु वर्षका लागि दुई खण्डमा १० करोड विनियोजन गरे पनि सडक विभागको प्राथमिकतामा नपरेकाले अहिलेसम्म काम हुन सकेको छैन ।’
