आजबाट बागमती प्रदेशमा भेँडा बाख्रामा लाग्ने पिपीआर रोग विरुद्धको खोप अभियान सञ्चाल हुँदैछ । प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहत सञ्चालन हुने खोप अभियानमा प्रदेशका १३ जिल्लाका करिब साढे १३ लाख भेँडाबाख्रामा खोप लगाइने भएको छ ।
एक हप्तासम्म चल्ने खोप अभियानमा जिल्ला पशु सेवा कार्यालय मार्फत २० वटा भन्दा बढी भेँडाबाख्रा पाल्ने कृषकको पहिचान गरी सोही स्थानमा पुगी खोप सञ्चालन गरिने योजना रहेको मन्त्रालयले जनाएकाे छ ।

२२ फागुनसम्म चल्ने खोप अभियानका लागी १५ लाख ९४ हजार डोज खोप प्राप्त भएकोमा १३ लाख ५० हजार डोज खोप खपत गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएकाे छ । पिपीआर विरुद्धको खोप भेँडाबाख्रामा पहिलो पटक ३ महिनाको उमेर पूरा भएपछि लगाउने र खोप लगाउँदा हरेक ३÷३ वर्षको फरकमा लगाउनुपर्ने छ ।
पिपीआर रोगको संक्रमण दर शत प्रतिशत र मृत्यु दर ९० प्रतिशतसम्म पुग्ने भएकाले यसलाई पशुहरुमा लाग्ने सबैभन्दा खतरनाक रोग मानिने गरेको मन्त्रालयका प्रवक्ता सुजन कँडेलले जानकारी दिए ।
नेपालमा पहिलोपटक सन् १९९४ मा देखिएको यो रोग हाल ७७ वटै जिल्लामा पुष्टी भएको छ । यो रोग लागेका भेँडाबाख्रामा ज्वरो आउने, झोक्राउने, घाँस, दानापानी नखाने, नाकबाट पानी बग्ने, नाकको प्वाल बन्द हुने, आँखा रातो, कचेरा निस्कने, निरन्तर आँशु बग्ने लगायतका लक्षण देखिने र रोग लागेको ५ देखि १० दिनमा भेँडाबाख्राको मृत्यु हुने गर्छ ।
