स्वास्थ्य तथा जनसंख्या मोहनबहादुर बस्नेतले मन्त्रालयको नेतृत्व सम्हालेको एक सय दिनमा आफूले गरेका कामको विवरण भन्दै साउन २६ गते राष्ट्रिय सभागृहमा तामझामसहित कार्यक्रम गरेका थिए। कामभन्दा बढी स्टन्टमा रमाउने मन्त्रीले उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत बोलाएका थिए।
मन्त्री बस्नेतले आफूलाई केन्द्रमा राखेर प्रचारका लागि गरेको उक्त दिनको कार्यक्रम खर्च भने १७ लाख ५० हजार रुपैयाँ उठेको छ। स्वास्थ्य मन्त्रालयले उक्त कार्यक्रमको खर्चको फाइल समेत उठाइसकेको छ।

‘जनताको स्वास्थ्यका लागि खर्च गर्नुपर्ने रकम मन्त्रीको प्रचारमुखी कार्यक्रम गर्दा साढे १७ लाख सकिएछ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘मन्त्री बस्नेत काममा भन्दा प्रचारमा नै रमाउँदा मन्त्रालयको कामको प्रगति समेत भएको छैन। पैसा पनि अनावश्यक काममा खर्च भइरहेको छ। मन्त्रीको प्रचारमा राज्यको १७ लाख ५० हजार स्वाह भएको छ।’ ती कर्मचारीका अनुसार अर्थ मन्त्रालयले १३ लाख जति रकम दिने भइसकेको छ। तर १७ लाख ५० हजारको कुरा आएकाले थप रकम चाहिने देखिएको हो।
मन्त्री बस्नेतले ‘एक सय दिन जनताको आशाको किरण’ भन्दै सभा गृहमा प्रगित विवरण सार्वजनिक गर्दा सुशासन तथा प्रशासनिक सुधार, नीतिगत सुधार, जनउत्तरदायी स्वास्थ्य क्षेत्र, सामाजिक न्याय, सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्ति र तथ्यमा आधारित निर्णय गरेको दावी गरेका थिए। तर यथार्थमा मन्त्रालयको माइलस्टोनमा भएका कामको प्रगतिले मन्त्रीले हालसम्म बोलेका कुराहरु गफमा नै सिमित भएको देखाएको छ।
प्रधानमन्त्री कार्यालयबाट स्वास्थ्यखबरलाई उपलब्ध भएका माइलस्टोनको प्रगति विवरण अनुसार कात्तिकभित्रमा गर्नुपर्ने ४६ प्रतिशत काम त मन्त्रालयले पुसको दोस्रो सातासम्म पनि सुरु नै गर्न सकेको छैन। सुरु भएकामध्ये पनि १६ प्रतिशत काम सम्पन्न हुन बाँकी नै छ। स्वास्थ्यखवर बाट
