नवलपुर, सिन्धुपाल्चाेक । सरकार सुस्त हुँदा सामाजिक संस्थाहरु सक्रिय हुँदै जाने इन्द्रावती गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङले बताएका छन ।
इन्द्रावती सृजनशिल युवा समाजद्वारा शनिवार आयोजित प्रथम गाउँपालिका स्तरीय सेभेन ए साइड इन्द्रावती बुढीचौर कप फुटबल प्रतियोगिता २०८० को उद्वाटन कार्यक्रममा मन्तब्य राख्दै तामाङले इन्द्रावती गाउँपालिका बिकास निर्माण लगायत सामाजिक कार्यहरूमा सुस्त भएको बताए । गाउँपालिकाले आयोजना गरेको खेलकुद बिबाद रहित नभएको इन्कित गर्दै तामाङले सरकार सुस्त हुँदा सामाजिक संस्था सक्रिय भएको उल्लेख गरे ।
इन्द्रावती गाउँपालिकाको सूचना


इन्द्रावती गाउँपालिकाको अध्यक्ष कप र राष्ट्रपति रनिङ्गसिल्ड खेलमा बिवाद आएको थियो । स्थापनाको पहिलो महिनामै पालिकास्तरिय खेलको आयोजना गरेर आफ्नो क्षमता प्रदर्शन गरेको भन्दै उनले इन्द्रावती सृजनशिल युवा समाजको प्रशंसा गरे । यसले सामाजिक संस्थाहरुकै लागी प्रेरणा हुने बताए ।
इन्द्रावती गाउँपालिकाका युवाहरुको जोस जाँगर र लगनशिलतालाई मध्यनजर गर्दै आफ्नो कार्यकालमा प्रत्येक वडाहरुमा सेभेन ए साइड खेल्न मिल्ने खेलकुद मैदान निर्माण थालेको उनले सुनाए । त्यसैको फल स्वरुप इन्द्रावतीमा खेलकुदको गतिविधि गर्न सहज भएको उनले बताए ।
आफ्नो कार्यकालमा जिल्लाकै उत्कृष्ट रंगशाला इन्द्रावती रंगशाला निर्माण गरेको स्मरण गर्दै तामाङले इन्द्रावतीबासीको मुहारमा खुसी फर्कने र खेलकुद पर्यटक भित्रिएर ब्यबसाय प्रवर्द्वन हुने हिसाबले यस्ता गतिविधिलाई प्राथमिकता दिएको उनले सुनाए । एउटा अनुशासीत र मेधावी खेलाडी उत्पादन गर्ने आफ्नो कार्यकालको उद्देश्य रहेको उनले स्मरण गरे ।
इन्द्रावती गाउँपालिकामा निर्वाचित वडा अध्यक्षहरु लक्षित सुझाव दिँदै उनले वडा अध्यक्षहरूले पनि वडा अध्यक्ष कप फुटबल गरेर खेलाडीहरू उत्पादन गर्नुपर्नेमा जोड दिए । युवाहरु बिदेश पलायन भइरहेको प्रशंगलाई जोड्दै उनले रोजगारको सीप सिक्ने तालिम केन्द्र गाउँपालिकामै स्थापना गर्न सकेमा युवाहरू यहिँ बस्ने धारणा राखे ।
इन्द्रावती सृजनशिल युवा समाजका युवाहरुले जस्तै रचनात्मक कामहरु गर्दै जाने जो कोहि युवाहरुलाई आफुले सहयोग गर्ने नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका तामाङले प्रतिवद्वता ब्यक्त गरे ।
