मेलम्ची, सिन्धुपाल्चाेक । नेपाल तामाङ घेदुङ मेलम्ची नगर समितिले २८६० औँ सोनाम ल्होछारको अवसरमा शनिवार मेलम्चीमा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेकाे छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङकाे प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएकाे हाे ।

इन्द्रावती गाउँपालिकाको सूचना


तामाङ बाहुल्य मेलम्ची नगरमा तामाङ जातीले मनाउने सोनाम ल्होछारको अवसरमा शुभकामना आदान–प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कलाकारहरुले तामाङ सेलो, गीत तथा नृत्य प्रस्तु गरेका थिए ।
राष्ट्रिय कलाकारका अलावा स्थानीय र विद्यार्थीहरुले पनि आफ्नो प्रस्तुती प्रदर्शन गरेका थिए । मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा लामा गुरु खेन्पो सर्वजित गोङ्बा तामाङले सोनाम ल्होछारको विषयमा चर्चा गरेका थिए ।
धर्म गुरू खेन्बो सर्वजित् लामाले ल्होछारको बारेमा प्रष्टयाउँदै मनोरञ्जन मात्रै नभई धार्मिक रूपमा संस्कार बनाउँदै लैजानुपर्ने बताए । जातीय तथा राजनीतिक भागबन्डा नभई सबै बौद्ध धर्म मान्ने पर्व सोनाम ल्होछार भएको बताउँदै उनले हरेक दिन प्रत्येक घरबाट धर्म र संस्कृति जोगाउन लाग्नुपर्ने र तामाङ गुरुङ शेर्पा सबैले एकीकृत रूपमा ल्होछार मान्नु पर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सबै धर्म र संस्कृतिको संरक्षण गर्नु स्थानीय सरकारको कर्तव्य भएको बताए । उनले यस्ता कार्यक्रमले नयाँ पुस्ताले धर्म र संस्कृतिको बारेमा थाहा पाउने भएकाले यसको महत्त्व जनाए ।

उपप्रमुख उमा प्रधानले कार्यक्रम सफलता र तामाङहरुको नयाँ वर्षको शुभकामना प्रदान गरिन् ।

कार्यक्रममा सञ्जाेक याेञ्जन, विजय लामा, मकर याेन्जन, ओम तामाङ वाइबा, तेज थिङ, छेवाङ डी स्याङ्बाे, अभि ब्लाेन, अनिता गाेले लगाएतका कलाकारले मनोरञ्जन दिलाएका थिए ।

कार्यक्रममा द भ्वाइस अफ नेपाल सिजन ५ का फस्ट रनर अप मकर याेन्जनलाइ सम्मान गरीएकाे थियाे । घेदुङ नगर अध्यक्ष ओम तामाङ वाईबाको सभापतित्वमा कार्यक्रम भएकाे हाे ।




