पोखरा । बाँदर आतङ्क बढेपछि पोखरामा वडाध्यक्षले रुख काट्ने अभियान चलाएका छन् । वडा नम्बर १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले सूचना जारी गरी आफ्नो खेतबारीमा भएका रुख बिरुवा काट्न नागरिकलाई बाटो खोलिदिएका छन् ।
लामाचौर र पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएकोले नियन्त्रणका लागि अभियान चलाइएको उनले बताए । ‘१० दिन भित्र मेरो रुख म काट्छु भन्ने अभियान सञ्चालन गरी आ–आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पु¥याउनको साथै आ–आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउनको लागि वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडावासीको लागि यो सूचना प्रकाशित गरिन्छ,’ सूचनामा भनिएको छ ।
इन्द्रावती गाउँपालिकाको सूचना


उनले सूचना जारी गरेपछि अहिले यसका तर्क वितर्क सुरु भएका छन् । केहीले सूचना नागरिकको हितमा भएको तर्क गरेका छन् भने केहीले रुख काटेर बाँदर नियन्त्रण नहुने बताएका छन् ।
यता मेयर धनराज आचार्यले भने महानगरले रुख काट्ने अभियान नचलाएकोले सूचनाको पछि नलाग्न भनेका छन् । ‘आफ्नो रुख आफै काटौँ अभियान भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरबाट कुनै निर्णय नभएकोले सो सम्बन्धी कुनै पनि कार्य नगर्नु नगराउनुहुन सबैलाई आग्रह गरिन्छ,’ उनले सामाजिक सञ्जाल मार्फत लेखेका छन् । उनले पनि रुख काटेर बाँदर नियन्त्रण नहुने बताए ।

