श्याम शर्मा एल.सि.
सिन्धुपाल्चोक, हेलम्बु
नेपालका वनजंगलमा पाइने साना हरिण प्रजातिहरूमध्ये एक महत्वपूर्ण प्रजाति भुक्ने मृग (रतुवा मृग) को अत्यन्त दुर्लभ अल्बिनो अवस्था हाल सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका क्षेत्रमा देखिएको छ। सेतो रङको रतुवा मृग देखिएको हो।
हेलम्बु गाउँपालिका वडा नं. १ को दोरिङ क्षेत्रमा इ. मिनेस गुरुङ र श्यामसुन्दर लामिछानेले अल्बिनो रतुवा मृग देखी तस्बिरसमेत खिचेका छन्। त्यसैगरी वडा नं. ४ अन्तर्गत मराम्ची गाउँस्थित छायाँ खोला सामुदायिक वन क्षेत्रमा पनि यस्तै दुर्लभ प्रजातिको एक जोडी देखिएको जानकारी उक्त वनका सचिव लोकमान तामाङले दिनुभएको छ। स्थानीय बासिन्दाका अनुसार ती मृगहरू गत वर्षदेखि वन क्षेत्रमा देखिँदै आएका छन् र घाँस–दाउरा संकलन गर्न जाने क्रममा मानिसहरूले चर्दै गरेको अवस्थामा देख्ने गरेका छन्।
सामान्यतया खैरो वा रातो रङको हुने रतुवा मृग अत्यन्त दुर्लभ रूपमा मात्र अल्बिनो अवस्थामा देखापर्छ। विज्ञहरूका अनुसार अल्बिनिज्म शरीरमा रङ दिने मेलानिन नामक तत्वको कमीका कारण हुने आनुवंशिक अवस्था हो, जसका कारण जनावर सेतो वा अत्यन्त फिक्का रङको देखिन्छ।
रतुवा मृग (Muntiacus vaginalis) हरिण परिवार Cervidae अन्तर्गत पर्ने सानो हरिण हो। नेपालमा यो तराई, चुरे तथा मध्यपहाडी क्षेत्रका घना वन, झाडी र घाँसे वनस्पतियुक्त भू–भागमा पाइन्छ। पात, टुसा, फलफूल र घाँस खाने यो प्रजातिले वनको झाडी व्यवस्थापन, बीउ फैलाउने प्रक्रिया तथा समग्र वन पारिस्थितिक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्दछ। साथै, चितुवा र बाघजस्ता मांसाहारी जनावरहरूको आहार शृङ्खलामा समेत यसको योगदान उल्लेखनीय रहेको विज्ञहरूको भनाइ छ।
अल्बिनो अवस्थामा रहेका रतुवा मृग भने सामान्य रङ भएका मृगको तुलनामा अत्यन्त जोखिममा रहने गर्दछन्। सेतो रङका कारण वन परिवेशमा सजिलै देखिने हुँदा शिकारी जनावरको आक्रमण तथा अवैध सिकारको खतरा बढी हुन्छ। त्यसैले यस्तो दुर्लभ जनावरको उपस्थितिलाई केवल हेर्ने विषय मात्र नभई तत्काल संरक्षणका उपाय अपनाउनुपर्ने आवश्यकता देखिएको छ।
हेलम्बु क्षेत्रमा अल्बिनो रतुवा मृग देखिनु केवल दुर्लभ जैविक घटना मात्र नभई पर्यावरणीय र जलवायु परिवर्तनसँग सम्बन्धित संकेत पनि हुनसक्छ । पछिल्ला वर्षहरूमा तापक्रम वृद्धि, अनियमित वर्षा, वनस्पतिको स्वरूपमा आएको परिवर्तन र मानव गतिविधिको विस्तारका कारण वन्यजन्तुहरूको बासस्थान तथा विचरण क्षेत्रमा परिवर्तन देखिन थालेको पनि हुन सक्छ।
संरक्षणको दृष्टिले रतुवा मृग अन्तर्राष्ट्रिय रूपमा “Least Concern” सूचीमा रहे पनि नेपालमा भने यसलाई संवेदनशील (Vulnerable) प्रजातिका रूपमा लिइन्छ। हेलम्बुमा देखिएको अल्बिनो रतुवा मृगले नेपालको जैविक विविधता कति समृद्ध छ भन्ने पुष्टि गर्नुका साथै स्थानीय तह, समुदाय र सरोकारवाला निकायले वन्यजन्तु संरक्षणमा अझ जिम्मेवार भूमिका खेल्नुपर्ने हेलम्बु गाउँ पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको भनाइ छ।
(लेखक:श्याम शर्मा एल.सि
बिपद जोखिम न्यूनीकरण तथा जलवायु अभ्यास कर्ता हुन)



